छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ ।

उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बागमती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।

एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । बागमती नदीमा पानीको सतह बढाउन र ब्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उनले भने, “विषेश दिनमा हामीले ड्यामको पानी बागमतीमा छाड्दै आएका छौँ ।”

प्रतिसेकेण्ड चार सय लिटर

समितिले छठ पर्वको दुई दिनसम्म बागमती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा ब्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा ब्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”

मेलम्ची खानेपानी विकास समिति भन्छः दश करोड लिटरसम्म छाड्न सक्छौँ

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए ।

“मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौ”, उनले भने, “हामीले सापटीका रुपमा पानी ल्याएका थियौँ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी बागती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी बागमती नदीमा बगाउन सक्छौँ ।”

मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उनको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी बागमती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताए ।

धाम ड्याम एक महत्त्व अनेक

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाम ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । योसँगै यस ड्यामले बागमती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ ।

पर्यटकीय महत्त्व पनि उस्तै

धाम ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो । दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिए ।

बर्खामा पानी जम्मा गर्ने, हिउँदमा नदीमा छाड्ने

धाम ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बागमती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । बर्खामा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले बागमतीमा छोडिने आयोजनाको लक्ष्य छ ।

एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा बागमती नदीमा पानी छोड्ने गरिन्छ । ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । आयोजनाका अनुसार यो ड्याममा हाल साढे १३ लाख घनमिटर पानी जम्मा भएको छ ।

सम्भव भएन दैनिक पानी छाड्न

धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा बागमती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ । नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको उप–निर्देशक नेपालको भनाइ छ ।

Skip This
Skip This
Logo