प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका छन्।
बुधबार राजधानीमा एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सुनाएको २ प्रसंगले धेरैको ध्यान तान्यो।
प्रधानमन्त्रीले आमाबुबाको झगडा गराउन कुरा लाउने प्रवृतिलाई यसरी व्यक्त गरे।
बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । फेरि आमाको कानमा गएर भन्ने, आमा बा त जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्,
त्यसपछि फेरि भन्ने ।
बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।
अनि झगडा शुरु हुन्छ।
प्रधानमन्त्री ओलीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद ल्याउन गरिएका प्रयासलाई चित्रण गर्ने क्रममा यो उक्ति सुनाएका हुन्।
उनले नेकपामा विवाद ल्याउन थामिनसक्नुको कोसिस भएको बताएका छन्। ‘नेकपाभित्र विवाद ल्याउन भएका प्रयासहरू, ओहो! यति धेरै छन् कि थामिसक्नुछैन,’ प्रधानमन्त्रीले भने, ‘तर ती प्रयासको केही काम छैन। तिनको केही चल्नेवाला छैन।’
प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ ।’
पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दक्षिण अमेरिकी देश भेनेजुयलाबारे दिएको विज्ञप्तिपछि प्रधानमन्त्री ओली र दाहालले परस्पर विरोधी अभिव्यक्ति दिएका थिए।
लगतै प्रधानमन्त्रीले अर्को उक्ति पनि सुनाए। ‘एउटा भैसी हेरेर एउटा जीवले भन्छ, मरेदेखि खान्थे। हेर्दाहेर्दै भैसी ब्यायो। दुध पनि दियो। पाडी पनि पायो। मर्ला र खाउला भन्ने जीवले भन्छ-त्यही दिन देख्नका लागि बाच्या थे। आज कुन दिन देख्नुपर्यो?’ उनले भने। उनले त्यो जीवको लागि त्यो दिन नराम्रो भए पनि भैसी, भैसीका पाडा र भैसी पाल्नेका लागि भने त्यही दिन राम्रो हुने उल्लेख गर्दै प्रम ओलीले नेपाली जनता पनि यही दिन देख्नका लागि हो भएको बताए।
सरकारले १८ वर्षदेखि ५९ वर्षको नेपाली नागरिकलाई स्वरोजगार बनाउने गरी यो कार्यक्रम घोषणा गरेको हो । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन हरेक नागरिकलाई रोजगार दिने गरी सरकारले कार्यक्रम ल्याएको हो । यदि कुनै नागरिकले एक सय दिनको रोजगार नपाएमा त्यस्ता व्यक्तिलाई सरकारले एक सय दिन बराबरको निर्वाह भत्ता उपलव्ध गराउने छ ।
नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने छ ।





























प्रतिक्रिया