काठमाडौँ
कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् ।
जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश रोजेका छन् भने स्थानीय तह रोज्नेको संख्या १ सय ६ रहेको छ । कुल २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले संघ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै २ हजार शाखा अधिकृतको कार्यबिभाजनको टुंगो लाग्न बांकी छ ।
त्यसै गरी प्रदेश र स्थानीय रोज्ने प्रशासनतर्फका १२ जना उपसचिवले प्रदेश र स्थानीय तह रोजेका छन् । प्रदेश रोज्ने उपसचिवको संख्या ८ रहेको छ भने ४ जना उपसचिवले स्थानीय तह रोजेका छन् ।
केही दिनभित्रै अन्य सेवा समूहका अधिकृतको तथ्यांक सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । संघमै रोजेका कर्मचारीलाई समायोजन गर्नमा ढिलाइ हुने भएको छ । अधिकांश कर्मचारीले संघमै समायोजन रोजेको अवस्थामा प्रदेश र स्थानीय तहमा पदपूर्ति नभएसम्म ती कर्मचारीको समायोजनमा ढिलाइ हुने भएको हो ।
प्रदेश तथा स्थानीय तहमा रिक्त हुने देखिएकाले दैनिक सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि संघबाट प्रदेश तथा स्थानीयमा खटाउने तर प्रदेश र स्थानीयबाट संघमा आउन केही समय लाग्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहांका अनुसार हिजो प्रदेश र स्थानीय तहका कामकाजका लागि खटाइएका कर्मचारी अब संघमा समायोजन हुँदा पनि ६ महिनासम्म फर्किन पाउने छैनन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया