काठमाडौं । सडक विभागले कोटेश्वर(कलंकी आठ लेन रिङरोड परीक्षण गर्ने भएको छ। विभागले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहितको विज्ञ टोलीबाट सुरक्षा परीक्षण (अडिट) गर्ने भएको हो ।
चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठ लेन रिङरोडमा भएका प्राविधिक त्रुटि सच्याउन विभागले सुरक्षा परीक्षण गर्न लागेको हो।
विभागले आइतबारबाट परीक्षण थाल्ने गरी विज्ञ टोली गठन गर्दैछ। टोलीले त्रुटि सच्याउन तत्कालै गर्न सकिने र दीर्घकालमा गरिने उपाय सिफारिस गर्ने सडक विभाग, सुरक्षा तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले जानकारी दिए।
लगभग साढे १० किलोमिटर लामो सडक निर्माणकै क्रममा डिजाइनमाथि प्रश्न उठेको थियो। वारिपारि घनाबस्ती बीचको सडक द्रुतमार्गको ढाँचामा बनाइएको भन्दै इञ्जिनियरहरूले आलोचना गरेका थिए।
सडक विभागका जिम्मेवार अधिकारीहरूले गत वर्ष नै त्रुटि स्वीकार्दै हस्तान्तरणपछि सच्याउने बाचा गरेका थिए। गत छ महिनामा मात्र रिङरोडमा १२ जनाले ज्यान गुमाइसकेका छन् ।





























प्रतिक्रिया