सिरहामा बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट

सिरहामा बोक्सी भन्दै महिलामाथि निर्घात कुटपिट

केन्द्रबिन्दु
0
Shares

सिरहा

सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् ।

घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधेर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् । कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन । घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।

जिउँदै जलाउने धम्की

स्थानीय अमिरी सदायका छोरा करिब १९ वर्षीय सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी बहिनी लगायतले लछारपछार पार्दै चौतारामा पु¥याई कुटपिट गरेको महतोले सुनाइन् । ‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे ।’

कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो । ‘म बोक्सी होइन, भन्दै हात जोडेर बिलौना गर्दा पनि कसैले सुनेनन्,’ उनले भनिन्, ‘उखुको लाथ्राले निरन्तर कुटिरहे ।’ बौवावतीका पति रामलोचन महतो काम गर्न गाउँबाहिर गएका वेला उनीमाथि कुटपिट भएको हो ।
नयाँ पत्रिकाबाट

Logo