शनिबारसम्म मौसममा हेरफेर भइरहने महाशाखाको भनाई

शनिबारसम्म मौसममा हेरफेर भइरहने महाशाखाको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा सात, धनगढीमा दुई र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ । बुधबार काठमाडौँको न्यूनतम चार र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो ।

महाशाखाले मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति निकालेर शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ ।   देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।

महाशाखाका मौसमविद् सुजन सुवेदीले पश्चिमी वायुको प्रभावले बदली र वर्षा गराएको जानकारी दिनुभयो । उहाँका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ । आइतबार पनि पहाडी भेगमा बदली र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo