चामलको बोरा भित्र युरिया मल भेटियो : उत्पादकको गम्भिर लापर्बाही

चामलको बोरा भित्र युरिया मल भेटियो : उत्पादकको गम्भिर लापर्बाही

केन्द्रबिन्दु
0
Shares

पर्वत

चामलको बोरामा बीयाँ, कनिका भेटिने कुरा सामान्य मानिन्छ तर पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ ।

पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो । शौरभ फुड प्रोडक्टस प्रा.लि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलमा युरिया भेटिएको हो । युरिया जस्तो देखिने डल्ला पानीमा राखेपछि पग्लन्छ तर युरिया हो वा होइन भन्ने बारेमा परिक्षण हुन बाँकी छ ।

सदरमुकाम कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट गत आईतवार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको आचार्यले बताउनुभयो । आइतबार सोही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा यूरिया मलका सेता दान बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताउनुभयो । ‘बेलुका भात पकाएर खाँदा सबैलाई पखाला लागेपछि बिहान चामल हेर्दा युरिया देखियो’ आचार्यले भन्नुभयो ‘त्यसपछि प्रशासनमा खबर गरेको हुँ ।’

सौरभ फुड प्रोडक्टले ०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा प्रशासनमा राखिएको छ । चामलको उपभोग्य मिति भने चौविस महिना रहेको छ । उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिएको थियो भने उक्त गोदाममा रहेका सोही ब्याच नम्बरका चामलका बोरामा भने मिसावट पाइएको छैन । पसलको गोदाममा रहेका अन्य बोराहरु हेर्दा भने यूरियाको मिसाबट नभएको पाइएको प्रमुख पौडेलले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकले नै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने पौडेलले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo