धनगढी । सुदूरपश्चिम क्षेत्रको विकासका लागि इन्जिनियरहरु महत्वपूर्ण भूमिका औल्याईएको छ । विकासको दृष्टिकोणले पछि रहेको सुदूरपश्चिमको पूर्वाधार विकासमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिईएको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम कार्यकारणी समितिले धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पूर्वाधार विकासको लागि इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिएका हुन् । नेपाल इन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम कार्यकारणी समितिका सभापति इन्जिनियर लव प्रसाद जोशीको अध्यक्षमा सम्पन्न पूर्वाधार विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर इन्द्र देव भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका इन्जिनियरहरुको दक्षता विकास गर्न आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहराले पूर्वाधार क्षेत्रको विकासका लागि इन्जिनियरहरुले अहम भूमिका निभाउनुपर्नेमा जोड दिए । अहिलेसम्म गर्दै आएको कामको प्रशंसा गर्दै मन्त्री बोहराले आगामी दिनमा अझै सशक्त भएर अगाडि बढ्न इन्जिनियरहरुलाई सुझाव दिए ।
त्यस्तै इन्जिनियर लव प्रसाद जोशीले केन्द्रीय सरकारले बजेट विनियोजन गर्दा भौगोलिक, जनसांख्यिक, मानव विकास सूचांकका साथ साथै पूर्वाधार विकासलाई पनि महत्व दिनुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशलाई न्यायोचित बजेट उपलब्ध गराउन प्रादेशिक सरकारले विशेष दबाब दिनुपर्ने उनको माग थियो । प्रादेशिक सरकारले उत्तर दक्षिण मोटर बाटो, महाकाली सिचाई योजना, खप्तड सर्किटलाई विशेष महत्व दिएर अगाडि बढाउन सुझाव दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारित हुने पूर्वाधार कार्यक्रमका संचालक रामहरी कोइरालाले पूर्वाधार कार्यक्रमको महत्व तथा उद्देश्यबारे जानकारी गराएका थिए । त्यस्तै इन्जिनियर किरण आचार्यले महाकाली सिचाई परियोजनाबारे जानकारी गराएका थिए । उनले परियोजनाको काम कारवाही तथा भौतिक प्रगतीबारे जानकारी दिएका थिए ।
इन्जिनियर बिरसिंह धामीले विनियोजित बजेटको अपर्याप्तताबारे प्रकाश परेका थिए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव इन्जिनियर गोगन बहादुर हमालले नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम कार्यकारणी समितिले गर्दै आएको कामको प्रशंसा गरे ।





























प्रतिक्रिया