काठमाडौँ
स्टिल र सिमेन्टको व्यवसाय हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको थियो । यस वर्ष अझ बढ्ने अनुमान गरिएको थियो । तर यस वर्षको पछिल्लो केही महिनामा यी दुवै उत्पादनको बिक्री ७–८ प्रतिशतले घटेको उद्योगीहरूको भनाइ छ । देशमा विकासका ठूला आयोजना थपिएका छैनन् ।
अझ खुद्रा व्यवसायी त धेरै निराश छन् । सिमेन्ट, छड लगायतको निर्माण सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतसम्मले घटेको निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले जानकारी दिए । गिटी, बालुवा, इँटा, प्लम्बिङका सामान लगायतको व्यापार पनि सोही अनुपातमा घटेको छ । ‘बैंकले कर्जा नदिएपछि निर्माणको क्रम रोकिएको छ,’ उनले भने ।
तरलताको अभाव तथा कालोबजारीका कारण मोबाइल सेटको वैधानिक बिक्री ६० प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । दसैँपछिको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मोबाइल सेटको बिक्री ५० देखि ६० प्रतिशतले घटेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् ।
यता ८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ ।
सामान्यतया दैनिक उपभोग्य वस्तुको बिक्री बढ्दो हुन्छ । दाल, चामल, तेल, बिस्कुट, चाउचाउ, चिनी, चियापत्ती, जुस, साबुन, स्याम्पुलगायतको बिक्री जनताले दैनिक प्रयोग गर्नुपर्ने हुनाले घट्दैन । तर, पछिल्लो समय साबुन, स्याम्पु, चाउचाउदेखि चुरोटसम्मको बिक्री घटेको व्यवसायीहरू बताउँछन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया