काठमाडौँ
दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छिन् । सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम छ । चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्रका अधिकारीहरूले अनौपचारिक पुष्टि गरेका छन् । सरकारी निकायले भने औपचारिक प्रतिक्रिया दिएको छैन ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छिन् । उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने छिन् । सरकारले राष्ट्रपतिको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ । उनी फागुन २६ मा पाँच दिनका लागि त्यसतर्फ जाने तयारी मन्त्रालयले गरिरहेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया