महेन्द्रनगर । कलुवापुर-बेलौरी सडक कालोपत्रेको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । शुक्लाफाँटा नगरपालिका-१ बन्साहका स्थानीय सडक कालोपत्रेको माग गर्दै आन्दोलित भएका हुन् ।
शुक्रबारदेखि स्थानीयले सडक कालोपत्रेको माग गर्दै सडक अवरुद्ध गर्न थालेका छन् । बन्साहका स्थानीयले आइतबार पनि सडक अवरुद्ध गरेका छन् । आइतबार ६ घण्टा सडक अवरुद्ध गर्ने कार्यक्रम रहेको स्थानीय तथा सडक सुधार संर्घष समितिका सचिव नरेन्द्र भट्टले बताए । ‘बिहान ८ बजेदेखि सडक अवरुद्ध छ, दिउँसो २ बजेसम्म सडक अवरुद्ध हुन्छ,’ उनले भने ।
लामो समयसम्म सडक निर्माणको कार्य अलपत्र अवस्थामा रहेकाले आन्दोलन गर्नुपरेको उनले बताए । ‘सडक कलोपत्रे नहुँदा उडने धुलोबाट स्थानिय विरामी भइरहेका छन्, सम्बन्धित निकायले तत्काल सडकमा पानी छकर्ने व्यवस्था मिलानुपर्छ,’ उनले भने ।
सम्बन्धित निकायले सोमबारसम्म सडकमा पानी छकर्ने व्यवस्था नमिलाए अनिश्चिकाल सडक अवरुद्ध गरिने बताए । सडक कालोपत्रे नहुँदा कष्टकर यात्रा गर्नुपरेको सडक सुधार संघर्ष समितिका संयोजक धनीदत्त अवस्थीले बताए ।
शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिले सडकको अबस्थाकाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकास मन्त्रीसम्मलाई भेटेर ज्ञापन पत्र सहित जानकारी दिइएको वडा नं. १ का वडा सदस्य तथा न्यायिक समिति सदस्य उत्तरदेव भट्टले बताए ।
सडक निर्माणको कार्य एक बर्ष देखि ठप्प रहेको छ । ठेकेदार कम्पनी सन्तोषी-थेगिम जेभीका प्रतिनिधि दमन राज जोशीले बजेट अभावले सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको बताए ।
सन्तोषी-थेगिम जेभीले २०७३ साल भदौमा २३ किलोमिटर कलुवापुर-बेलौरी सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौता अनुसार सन्तोषी-थेगिम जेभीले २०७५ साल भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म निर्माण कम्पनीले रु ४ करोड ४४ लाख भुक्तानी लिएको छ ।































प्रतिक्रिया