काठमाडौँ
सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत रयान्डी बेरी अनुपस्थित भएका छन् । भेनेजुयलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कूटनीतिक छलफलमा काठमाडौंस्थित अमेरिकी दूतावासबाट राजदूतको सट्टा उपनियोग प्रमुख उपस्थित भएका थिए । करिब तीन घण्टासम्म भएको छलफलमा अमेरिकी दूतावासबाट आएका प्रतिनिधि डेढ घण्टा मात्र बसेर निस्केका थिए ।
कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा लगायत सहभागी भएका थिए ।
सरकारले ‘कूटनीतिक ब्रिफिङ’ मार्फत काठमाडौंमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिलाई देशले लिएको आन्तरिक नीति, विदेश नीति र गत वर्ष भएका गतिविधिका विषयमा जानकारी गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए ।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे लिखित मन्तव्य पढेर सुनाएका थिए । मन्तव्यको दोस्रो भागमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले लिएको आन्तरिक नीतिका विषयलाई समेटेका थिए । उनले नेपालले ध्यान केन्द्रित गरेका क्षेत्रहरू, नेपालले लिएको नीतिले अन्तर्राष्ट्रिय जगतमा पारेको प्रभावका विषयमा जानकारी गराएका थिए ।
‘हाम्रा नीतिहरू कस्ता छन्, हामीले फोकस गर्नुपर्ने क्षेत्रहरू कुनकुन हुन् भन्ने विषयमा छलफल केन्द्रित थियो । हाम्रो आन्तरिक नीतिको प्रभाव अन्तर्राष्ट्रिय समुदायमा कसरी परिरहेको छ भन्ने विषयमा बुझ्ने कामसमेत भएको थियो,’ सल्लाहकार डा. भट्टराईले भने ।
राजधानीबाट





























प्रतिक्रिया