यस्तो छ ६९ वर्षे हजुरआमाको एसईई सपना !

यस्तो छ ६९ वर्षे हजुरआमाको एसईई सपना !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भक्तपुर गोठाटारकी ६९ वर्षीया युगमाया कार्की सानैदेखि स्कुल जान चाहन्थिन् । ओखलढुंगाको दुर्गम गाउँमा जन्मे हुर्केकी युगमायाको घर नजिकै स्कुल थियो । तर छोरीलाई पढाउन हुन्न भन्ने सामाजिक मान्यताका कारण उनको स्कुल जाने रहर पुरा हुन सकेन ।

उनले धेरैपटक अभिभावकसंग आफूलाई स्कुल पठाउन अनुनय गरिन् । तर उनको अनुरोध सुन्ने कोही भएन । दाजुभाई स्कुल जाँदा युगमाया भने घरधन्दा गरेर बस्नुपर्थ्यो । स्कुल पढ्न नपाएको कुरा उनको मनमा काँडा बनेर बिझिरह्यो।

उमेर छँदा पढ्न नपाएपनि पढ्ने हुटहुटीले उनलाई बुढेसकालमा पनि अध्ययनका लागि प्रेरित गरेको छ । स्वास्थ्यले साथ दिए युगमाया यसवर्षको एसईई परीक्षा दिने सम्भवत सबैभन्दा पाको विद्यार्थी हुनेछिन् । ७ छोराकी आमा युगमाय काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् ।

१४ वर्षको उमेरमै विहे गरेकी युगमायाको क ख रा सिक्ने रहर झन्डै ५० वर्षको उमेरमा आएर मात्र पुरा भयो । ‘छोराहरु हुर्किसकेका थिए । त्यसपछि गाउँमै प्रौढ शिक्षा पढ्न थालें । पछि छोराहरुले काठमाडौँ ल्याएपछि ३ कक्षामा भर्ना भएँ ’, युगमायाले सुनाइन् । पढ्दै जाँदा छोराहरुले पनि हौसला दिन थालेको उनले बताइन् ।

युगमायाको चाहना पढेर केही बन्ने भन्दा पनि आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने हो । युगमायालाई एसईई पछि पनि पढ्ने रहर छ । तर बुढेसकालमा शरीर अशक्त बन्दै जाँदा विभिन्न समस्या देखिँदा पढाई अघि बढाउन नसकिने हो कि भन्ने पीर छ उनको मनमा । ‘पढ्न थालेपछि मेरो आँखा खुलेका छन् । जबसम्म उमेरले साथ दिन्छ पढिरहन्छु ।’ उनले भनिन् ।
नागरिकबाट

Logo