( झापाको दमक –३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आइतबार भएको आगलागी )
विराटनगर
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित धान र पटुवा गोदाममा आइतबार आगलागी हुँदा एक करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सोही स्थान बस्ने त्रिलोचन यादवको एकतले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४५० क्विन्टल धान, अन्दाजी एक करोड २५ लाख ७० हजार मूल्य बराबरको पाँच हजार मन सनपाट (पटुवा) र अन्दाजी ६० हजार मूल्य बराबरको घर आंशिकरुपमा जलेको छ ।
आगलागी दुहबी, इटहरी र इनरुवा नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भूटानी शिविरमा आगलागी
यता झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आइतबार अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् ।
अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो ।
आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणका क्रममा रहेकाले क्षतिको पूर्ण विवरण आई नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।
रासस





























प्रतिक्रिया