काठमाडौँ
आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस तनाव निम्त्याउने तयारीमा छन् । सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको होे ।
शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर कांग्रेस जुनकुनै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरूले दिएका छन् । दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालक समेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।
संसद् बैठकमै सय मर्यादापालक खटाइनेछन् । ‘आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ,’ मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने । आवश्यक परे रोस्ट्रम अघि मर्यादापालकको डबल रो राखिने उनले बताए ।
संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडानमा नेकपा छ । कांग्रेसले भने सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान थपेको छ । यसअघि उसले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएकोमा संसद अवरुद्ध गर्दै आएको छ ।
विधेयक पास हुन्छ : गोकुल बाँस्कोटा ( सरकारका प्रवक्ता )
विधेयकमाथि दफावार छलफल भएर नै संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पास गरेको हो । प्रक्रियामा गइसकेकाले सोहीअनुसार विधि र प्रक्रियाबाट पारित हुन्छ । नेपालको इतिहासमै सबैभन्दा घेरै छलफल भएको विधेयक यही हो । संसद्को क्षेत्राधिकारभित्र रहेकाले चिकित्सा विधेयक अब फिर्ता हुँदैन ।
संसदमा मुठभेड हुन सक्छ : गगन थापा ( कांग्रेस सांसद )
सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद् बैठकमा मुठभेड हुन सक्छ । सभामुखको संसदभित्रको भूमिका हामीलाई चित्त बुझेको छैन । सभामुखको पदमा आसिन भइसकेपछि दलमा आबद्ध रहनुहुन्न र रहँदैन भन्ने कुरालाई हामी सधैँभरि अपेक्षा गर्छौँ । अस्तिको अवस्था दोहोरिन नदिन उहाँले हामीलाई बैठक सुरु हुनुअघि आश्वस्त पार्नुहुन्छ भन्ने अपेक्षा छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया