काठमाडौं । पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फिनाले चरणमा प्रवेश गरेको छ । एक्रेटिभ मिडियाद्वारा आयोजना तथा निर्माण गरी एपीवान एचडी टेलिभिजनमा प्रसारण हुँदै आएको साप्ताहिक कार्यक्रम पब्लिक स्पीकर नेपाल २ अन्तिम चरणमा प्रवेश गरेको हो ।

२ भागमा विभाजित ग्रान्ड फिनाले माघ १० र ११ गते हुनेछ । उक्त ग्राण्ड फिनाले बेलुकी ८ः३० बजे एपीवान एचडी टेलिभिजनमा प्रसारण हुनेछ । कार्यक्रम एक्रेटिभ मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत समेत बेलुकी ८ः४५ बजेदेखि प्रत्यक्ष हेर्न सकिनेछ ।

प्रान लिची ड्रिन्क मुख्य प्रायोजकका रुपमा रहेको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को विभिन्न १२ स्थानमा आयोजित अडिसनमा देशभरका करिब १ हजार १ सय युवाले सहभागिता जनाएका थिए । जसमध्ये ६ प्रतियोगीले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।

अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै विभिन्न ५ प्रतियोगीहरुले निर्णायकहरुको निर्णयको आधारमा ग्रान्ड फिनालेमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । सेमी फाइनलबाट बाहिरिएकी १ प्रतियोगीले पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी हुन् ।

पब्लिक स्पीकर नेपाल २ को विजेतालाई पुरस्कार स्वरुप तीन लाख रुपैंया प्रदान गरिनेछ भने प्रथम उपविजेताले दुई लाख रुपैंया र द्वितिय उपविजेताले एक लाख लाख रुपैंया प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा जनताको मतका आधारमा चुनिन सफल प्रतियोगीलाई पब्लिक च्वाइस उपाधिले सम्मान समेत गरिनेछ ।

धरानका रमेश प्रसाई, काठमाडौंका प्रज्वल विक्रम विष्ट, काठमाडौंकै मानषी ठाकुर, मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रनभ काफ्ले र मोरङकी मञ्जिता गुरुङ ग्राण्ड फिनालेमा गएका छन् । आज र भोली ग्राण्ड फिनाले र भोली शुक्रबार विजेता घोषणा गरिने कार्यक्रम रहेको छ ।

निर्णायकमा महानायक राजेश हमाल, लैंगिक तथा विकासविद् सरु जोशी श्रेष्ठ, विज्ञ डा. रोशन राठी र लेखिका सितल दाहाल रहेका छन् ।
































प्रतिक्रिया