मनाङमा यसवर्ष १० करोडको स्याउ उत्पादन

मनाङमा यसवर्ष १० करोडको स्याउ उत्पादन

केन्द्रबिन्दु
0
Shares

बेसीसहर

हिमाली जिल्ला मनाङमा यो वर्ष १० करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ९८ हेक्टर जमिनमा लगाइएका स्याउका बोटबाट नौ सय ९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका अनुसार जिल्लाका दुई सय सात हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिंदै आएको छ । जसमध्ये ९८ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । मनाङको प्रमुख नगदेबालीका रूपमा लिइएको स्याउ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भारताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङ लगायतका दर्जनौं स्थानमा ठूलो परिमाणमा उत्पादन हुँदै आएको छ ।

अघिल्लो वर्ष मनाङमा ८९ हेक्टर क्षेत्रफलमा नौ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आव ०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा आठ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव २०७२/७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

उत्पादित स्याउ दुई सय ९० मेट्रिक टन जिल्लामा नै खपत हुन्छ भने बाँकी सात सय मेट्रिक टन जिल्ला बाहिर निर्यात हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार मनाङका बासिन्दाले आफ्ना बारीमा उत्पादित स्याउलाई सुकुटी र घरेलु मदिरा बनाएर समेत बिक्री गर्ने गरेका छन् ।
अन्नपूर्णबाट

Logo