काठमाडौँ
डा गोविन्द केसीमा निमोनियाको समस्यासँगै अक्सिजन र सेतो रक्तकोषिकाको कमी देखिएको चिकित्सकहरूले बताएका छन् । शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियूमा राखिएका केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण छ, जसको उपचारका लागि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको उपचारमा संलग्न डाक्टरले बताए ।
केसीको रगतमा अक्सिजनको मात्रा घटेको छ । चिकित्सक टोलीले अक्सिजन दिने प्रयास गरे पनि केसीले मानेका छैनन् । डब्लुबिसीको मात्रा निकै घटेकाले निमोनियाको संक्रमण फैलिने खतरा रहेको डाक्टरले बताए । ‘निमोनिया र अक्सिजनको कमीसँगै डब्लुबिसी पनि कम हुँदा इन्फेक्सनको खतरा उच्च हुन्छ । जटिल अवस्था निम्तिन सक्ने भएकाले उहाँलाई आइसियूमा राखिएको हो,’ ती डाक्टरले भने ।
अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भए पनि सरकारले ध्यान नदिएको भन्दै केसीका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को अगुवाइमा माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा चिकित्सा शिक्षा अध्ययनरत विधार्थी, चिकित्सक, नागरिक समाजका प्रतिनिधि र आम सर्वसाधारणको सहभागिता थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया