काठमाडौं
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले संसदीय उपसमितिले आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको शिक्षा तथा स्वास्थ्य उपसमितिले बहुमतबाट पास गरी विधेयक पूर्ण समितिमा पठाएको थियो । उपसमितिले केसीसँग भएका महत्वपूर्ण तीन मागलाई बेवास्ता गर्दै विधेयक पास गरेको थियो ।
उपसमितिले माग सम्बोधन नगरेपछि केसीले सोमबार पत्रकार सम्मेलनमार्फत आफूसँग भएको सम्झौताविपरीत उपसमितिले पठाएको विधेयक अविलम्ब सच्याउन माग गरे । ‘यदि समितिले जबर्जस्ती गर्न खोजे पूर्वनिर्धारित समय अगावै अनशन बस्नेछु,’ डा. केसीले भने । संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय माग गरेपछि केसीले २५ पुससम्म अनशन स्थगित गरेका थिए ।
केसीले संसदीय उपसमितिका सांसदहरूले चलखेल गरेको आरोप लगाएका छन् । ‘चिकित्सा शिक्षा विधेयक अघि बढाउने क्रममा संसदीय उपसमितिमा साम्यवादी शीर्षस्थ नेताहरू र उपसमितिका सांसदहरूले चलखेल गरेर हामीसँग भएको सम्झौता अनुरूप जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदा हाल्दै विधेयक उपसमितिबाट पारित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केसीले मानवताविरोधी क्रियाकलाप गर्ने कुनै नेतालाई पनि नछाड्ने चेतावनी दिए । ‘अबको अनशन चिकित्सा शिक्षा र स्वास्थ्यमा मात्रै केन्द्रित रहँदैन, अब मेरो आन्दोलन त्यही रूपमा अघि बढ्छ,’ केसीले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया