सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएपछि एक जना पूर्वसचिवले आक्रोश व्यक्त गरेका छन्।
पूर्वसचिव भिम उपाध्यायले नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारको बचाउ गर्दै सरकारको आलोचना गरेका हुन्। एक घण्टाको बिचमा २ ओटा स्टाटस लेख्दै उपाध्यायले सबै कुरा मनगढन्ते जस्तो लागेको बताएका छन्।
सार्वजनिक लेखा समितिले गरेको छानबीन सिफारिस र निर्देशनमा कुनै दम नभएको भन्दै उपाध्यायले कम्पिटेन्ट अथरिटीले गरेको नीतिगत निर्णयमा ठूलो भ्रष्टाचार हुने कुरा वाहियात भन्दै टिप्पणी गरेका छन्। बदनियत र भ्रष्टाचार हुन आर्थिक लेनदेन प्रमाणित हुनुपर्ने उल्लेख गर्दै उनले दोषी प्रमाणित गर्ने अधिकार अदालतलाई मात्र भएको बताएका छन्।
‘मैले आज सार्वजनिक लेखा समितिले जहाज खरिद सम्बन्धमा गरेको छानबीन सिफारिस र निर्देशनमा उल्लेख भएका बुँदा/विषयहरूमा कुनै दम भेटिन । सबै कुरा मनगढन्ते जस्तो लाग्यो । कम्पिटेन्ट अथरिटीले गरेको नीतिगत निर्णयमा ठूलो भ्रष्टाचार हुने कुरा वाहियात हो । बदनियत र भ्रष्टाचार हुन आर्थिक लेनदेन प्रमाणित हुनुपर्छ । निर्णय भनेको अनेक विकल्पमा अधिकारप्राप्त अधिकारी निकायले सर्वोत्तम लागेको विकल्प छान्ने हो, तैले किन त्यो छानिस्, अर्को बिकल्प किन छानिनस् भन्ने बाहिरियालाई कुनै अधिकार हुदैन । त्यो बाहिरिया निकायसंग पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था हुनुपर्यो ताकि कुन ठीक छ हजुर के गरम् भनेर सोध्न जानुपर्ने। रह्यो कुरा लेनदेन घूसखोरी भयो कि भएन भन्ने कुरा । त्यसबारे बिधिवत छानबीन अख्तियारले गरेर प्रमाण भेटाए मुद्दा दायर गर्ने हो । अदालतमा मुद्दाउपर निर्णय लिदा बदनियत र घूस लेनदेन गरेको प्रमाण पेश गरेमा मात्र अदालतले दोषी ठहराउछ । अदालतबाहेक कसैलाई पनि आरोप लगाउदैमा अनुमान गर्दैमा कसैमा भ्रष्ट प्रमाणित गर्ने औकात रहदैन । बोल्ने, लेख्ने, निर्देशन दिने अधिकार लोकतन्त्रमा जसलाई पनि होला तर दोषी प्रमाणित गर्ने अधिकार अदालतलाई मात्र छ ।’
उनले रोटी कि भात खाने भन्ने कुरा अधिकार प्राप्त निकायको मात्र भएको भन्दै अगाडि लेखेका छन्, ‘तैले आज रोटी किन खाईनस्, भात किन खाईस् भनेर सोध्नुको कुनै अर्थ छैन । रोटी कि भात खाने भन्ने कुरा अधिकार प्राप्त निकायको मात्र हो । रोटी खाम कि भात भनेर सोध्न कसकोमा जानु र ! कि घरिघरि तिनको मैं सोध्न पर्ने कानुन बनाई दिनुपर्यो बिधायकहरूले आफै ! जहाज त आईसक्यो, अब आरोप लगाउनेहरू पनि तिनै जहाजमा सरर शयर गर्ने नै छन् देशदेशान्तर।’

त्यस्तै गरि उपाध्यायले अर्को स्टाटसमा कंसाकारको ब्यावसायिक दक्षताको प्रशंसा गरेका छन्। उनले कंसाकारको ब्यावसायिक दक्षता र देशप्रेमलाई तराजुमा एकातिर राख्ने र नेपालका सबै ८३४ जना सांसद र करिब १०० जना मन्त्रीहरूलाई अर्कोतिर राख्ने हो भने पनि कंसाकारले जित्ने बताएका छन्। ‘मेरो नजरमा नेपाल वायुसेवा निगमका जीएम सुगतरत्न कंसाकारको ब्यावसायिक दक्षता, ईमान्दारिता, क्षमता, साहस र देशप्रेमलाई तराजुमा एकातिर राख्ने र नेपालका सबै ८३४ जना सांसद र करिब १०० जना मन्त्रीहरूलाई अर्कोतिर राख्ने हो भने पनि सुगतको तौल बढी छ । मलाई सुगतको व्यावसायिक ईमान्दारिता प्रति जति विश्वास छ त्यसको दशांस पनि अरू सबै नेताहरूलाई अर्कातिर राख्दा पनि छैन ।’ उनले लेखेका छन्।
निकै आक्रोशित आशय व्यक्त् गर्दै उनले लेखेका छन्, ‘सुगतजस्ता जीएमहरुको काम प्रोजेक्ट कार्यसम्पादन हुनेगर्छ भने नेताहरूको काम वक्तृत्व प्रतियोगिता हुनेगर्छ ।’






























प्रतिक्रिया