काठमाडौँ
जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्ग अन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ । नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउने बित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए । तर जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । नेपाल र भारतको केन्द्र सरकारकै उपस्थितिमा रेलमार्ग उद्घाटन गर्ने तयारी छ ।
नेपालमा ब्रोडगेज रेलसेवा सञ्चालन गर्न लागिएको हो । साबिकमा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालनमा रहेको जनकपुर रेल्वेलाई विस्तारित गर्दै नेपाल रेल्वेले जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म सञ्जाल बढाएको छ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको रेल्वे सेवा तीन चरणमा पूरा हुँदैछ, जसको पहिलो चरणको काम अन्तिममा पुगेको छ ।
पहिलो चरण अन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना छ । जयनगरदेखि कुर्थासम्मको तीन हल्ट, पाँच स्टेसन र प्लेट फर्म तयार भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालयका प्रमुख इन्जिनियर विनोद ओझाले बताए । जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरसम्मको रेलसेवा गत डिसेम्बरभित्र सञ्चालन गरिसक्ने लक्ष्य भए पनि हाल रोकिएको उनको भनाइ छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया