आमाको किरिया गर्दै दुई छोरी

आमाको किरिया गर्दै दुई छोरी

केन्द्रबिन्दु
0
Shares

दाङ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरीहरु १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा काजकिरियामा बसेका हुन् ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।

आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधनाले दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा छात्रवृत्ति कोटामा सिएमए पढ्दैछिन् । त्यस्तै माइली सदीक्षाले अमर मावि उरहरीमा कक्षा ८ र कान्छी छोरी प्रतीक्षाले दिव्यज्योति बोर्डिङ स्कूल तुलसीपुरमा कक्षा ५ मा अध्ययन गर्दै आएकी छिन् ।

श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि ताराको निधन भएको हो । दमका कारण उनको मृत्यु भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताईन् । “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, उनले भनिन्, त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौं भन्ने लागेर किरिया बसेका हौँ ।”

समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भएपनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उनको भनाइ छ । उनीहरुले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आएका छन् । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । रासस

Skip This
Skip This
Logo