नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने एकजना कोटेश्वरबाट पक्राउ

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने एकजना कोटेश्वरबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली गरगहनालाई सक्कली भनेर विभिन्न व्यक्तिसँग लाखौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा सुनका नक्कली गरगहना देखाएर चार लाखभन्दा बढी रकम ठगी गर्ने ललितपुरका २६ वर्षीय राजु परियारलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । परियारले सुन जस्तो देखिने पहेँलो धातुलाई औँठी र सिक्री बनाएर रवि तामाङसँग दुई लाख र रमेश मगरसँग एक लाख ९० हजार ठगी गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । “नक्कली गहना सक्कली भनेर किन्ने व्यक्तिले ठगिएको निवेदन परिसरमा दिएका आधारमा परियारलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।

पक्राउ परेकासँग प्रहरीले नक्कली सिक्री १० थान, बेरुवा औँठी ३२ थान, सादा ब्रासलेट एक थान, कानमा लगाउने रिङ एक जोर, धातुका विभिन्न औँठी पाँच थान, धातुका सिक्री एक थान, विभिन्न थानका पत्थर सात थान, नेपाली नागरिकता प्रमाणपत्र ११ थान, सवारी चालक अनुमतिपत्र दुई थान र मोबाइल चार थान बरामद गरेको छ । प्रहरीले १६ हजार ७०० नगद र वन्यजन्तुको दाँत जस्तो देखिने सेतो दारा एक थानसमेत बरामद गरेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।
रासस

Logo