कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे १५’ पर्व मनाईदैंछ । एक आपसमा कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व हर्षोउलासपूर्वक मनाइँदै छ ।
पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ ।
यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला बिषेशगरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
१५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।
बिषेशगरी केटीहरु मिलेर एउटै ठाउँमा जम्मा भई ढुकढुके रोटी पकाउने र इष्टमित्रको केटाहरुलाई निमन्त्रणा दिएर उनीहरुसँगै रोटी खादै न्याउले खेलेर, गीत कथा सुन्ने सुनाउने गरेर रमाईलो गर्दै रात बिताउने प्रचलन रहिआएको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूली रात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ ।
डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने ‘पुस १५’ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन विस्तारै लम्बिँदै जाने मानिन्छ ।





























प्रतिक्रिया