काठमाडौँ
नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समयमा धारणा राख्ने क्रम चलिरहेको थियो । पालो आयो नेपाली कांग्रेसका सांसद थापाको । उनी माइक समातेर बोल्न थाले । कर्मचारी समायोजन अध्यादेश विभेदकारी रहेको भन्दै फिर्ता लिन उनले सुझाव दिइरहेका थिए ।
उनी २ मिनेट ३१ सेकेण्ड बोलिसक्दा माइकको लाइन काटियो । माइक काटिएको ५ सेकेण्डसम्म बोलेर गगन रोकिए । त्यसपछि सभामुखले नेकपाका सांसद नरबहादुर धामीलाई ३ मिनेटको समयसहित बोल्न दिए । धामी बोलिरहँदा गगन आफ्नो सीटबाट उठेर पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँड बसिरहेको ठाउँमा पुगेर निर्धारित समय अगावै माइकको लाइन काटिएको गुनासो गरे । यसमा सभामुखको ध्यानाकर्षण गराउन उनले आग्रह गरे ।
सांसद धामी बोलिसकेपछि सभामुखले बोल्नका लागि तेजुलाल चौधरीलाई समय दिए, तर प्रमुख सचेतक एवं सांसद खाँडले आफ्नो सांसदको निर्धारित समयअघि नै माइकको लाइन काटिएको भन्दै उठेर नियमापत्ति जनाए । खाँडले भने, ‘घडी विग्रिएछ, भर्खरै पूर्ववक्ता माननीय ज्यूहरुलाई निर्धारण गरिएको समयभन्दा पहिले नै लाइन काटियो ।
त्यसकारण माननीयज्यूहरुले आफ्नो कुरा राख्ने क्रममा पूर्वतयारी गर्नुहुन्छ, त्यसअन्तर्गत आफ्ना कुरा राख्न पाइएन । सभामुखले जवाफमा भने, ‘निर्धारित समयभन्दा ३० सेकेण्ड बढी बोल्नुभयो । हाम्रो रेकर्डमा ।’ त्यसपछि खाँडले भने, ‘त्यही त घडी विग्रिएछ के अलि, यतापट्टी ध्यान जाओस ।’ फेरि सभामुखले भने समय साढे ४ मिनेट हो । माननीय सदस्यले उठाएका प्रश्न म्यानेजमेन्टको प्रश्न हो । हाम्रो ध्यानाकर्षण भएको छ ।’
नागरिकबाट
#Video via Kendrabindu TV Youtube Channel





























प्रतिक्रिया