हुम्ला
जिल्लाका स्थानीय तहका जनप्रतिनिधि ‘संघीयता अवलोकन अध्ययन भ्रमण’का नाममा लाखौँ रुपैयाँ खर्चेर घुमघाममा निस्कन थालेका छन् ।
केही स्थानीय तहका जनप्रतिनिधिले घुमघाम गरिसकेका छन् भने केही भर्खरै निस्केका छन् । सिमकोट गाउँपालिकाको टोली ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ नाम दिएर बुधबार भ्रमणका लागि निस्केको छ । गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा २० सदस्यीय टोली भ्रमणमा गएको हो । यो भ्रमण टोलीमा जनप्रतिनिधि र कर्मचारी सहभागी छन् । गाउँपालिका स्रोतका अनुसार, यो भ्रमणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँ कार्यपालिकाको निर्णयका आधारमा भ्रमणमा गएको प्रमुख प्रशासकीय अधिृकत अर्जुन दर्जीले बताए । ‘त्यत्तिकै घुम्न निस्केका होइनन् । कार्यपालिकाको निर्णयले नमुना नगरपालिका र गाउँपालिकाको भ्रमणमा जान लागेका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत दर्जीले भने ।
गाउँपालिका अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत दर्जीसहित २० जनाको टोली भ्रमणमा गएपछि गाउँपालिकाको कामकाज ठप्प भएको छ । बुधबारदेखि नै गाउँपालिकाको कामकाज प्रभावित भएको एक कर्मचारीले बताए । ‘सबै भ्रमणमा गएपछि कसरी काम हुन्छ ?’ उनले भने । भ्रमण टोलीमा सबै वडाका अध्यक्षहरू सहभागी छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया