प्रदेश राजधानीमै घर भएका सांसदले पनि बुझ्छन् संसदबाट घरभाडा !

प्रदेश राजधानीमै घर भएका सांसदले पनि बुझ्छन् संसदबाट घरभाडा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश नं. १

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटनगरमा घर छ । तैपनि उनीहरूले मासिक १५ हजारका दरले प्रदेश सभाबाट घरभाडा रकम बुझिरहेका छन् ।

विराटनगरसँग सिमाना जोडिएको ग्रामथान गाउँपालिका घर भएका नेकपाका विजयविश्वास थारू र धनपालथान गाउँपालिका घर भएका ज्ञानेश्वर राजवंशी, इटहरी घर भएका सर्वध्वज साँवा र लिलम बस्नेत तथा विराटचोकका राजकुमार ओझा घरबाटै संसद् ओहोरदोहोर गर्छन् । तैपनि घरभाडाबापतको रकम भने बुझिरहेका छन् । राजधानीबाट करिब ३० किलोमिटर दूरीमा घर भएका अन्य केही सांसद पनि घरबाटै संसद् आउ–जाउ गर्छन्  । उनीहरूले पनि घरभाडा रकम भने बुझिरहेका छन् ।

प्रदेश नं. २

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको घर जनकपुरमै छ, उनी बस्छन् पनि त्यहीँ । तैपनि यादवले घरभाडाबापत प्रदेश सभाबाट प्रत्येक महिना १८ हजार रकम बुझ्ने गरेका छन् । संसदीय दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई प्रदेश सभा सचिवालयले मासिक १८ हजार आवास सुविधा दिँदै आएको छ ।

यादवसहित १४ सांसदले जनकपुरमा घर भएर पनि प्रदेश सभाबाट घरभाडा रकम बुझ्ने गरेका छन् । सांसदहरूले घरभाडाबापत प्रतिमहिना १५ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

यो सुविधा दुरुपयोग गर्दै राजपाका सुरिता साह, ज्यनुल राइन, रिना यादव, जानकीशरण साह र परमेश्वर साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरी, नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादवले प्रदेश सभाबाट रकम बुझ्ने गरेका हुन् । उनीहरू सबैको जनकपुरमा घर छ ।

प्रदेश नं.३

प्रदेश राजधानी रहेको मकवानपुरका सांसदहरू इन्द्रबहादुर बानियाँ, मुनु सिग्देल र जुनेली श्रेष्ठले प्रदेश सभाबाट घरभाडाबापत पाउने १५ हजारमध्ये सात हजार पाँच सय रुपैयाँ बुझ्ने गरेका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ मा राजधानी भएकै स्थानमा घर भएका सांसदलाई घरभाडाबापतको आधा रकम उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओम ग्लान र सन्तबहादुर प्रजा भाडाका घरमा नबसे पनि घरभाडा बुझिरहेका छन् । मोक्तान हेटौँडा–१३ पदमपोखरीस्थित माइतीमा बस्छिन् ।

गण्डकी प्रदेश

स्याङ्जा क्षेत्र नम्बर १ (ख) का सांसद मीनप्रसाद गुरुङको पोखराको केन्द्र मानिने नागढुंगामा घर छ । तर उनले घरभाडाबापतको रकम बुझ्दै आएका छन् । संसद् सचिवालयमा भने उनले पोखरामा आफ्नो घर नभएको विवरण बुझाएका छन् ।

प्रदेश सभामा रुपन्देहीमा घर भएका मात्रै १७ सांसद छन्, सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद डेरामा बस्छन् । १३ सांसदले भने बुटवलमै घर भएर पनि प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका छन् ।

प्रदेश नं. ५

नेकपाका कमलादेवी विक, कृष्णप्रसाद न्यौपाने, तुलसीप्रसाद चौधरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र सुनिताकुमारी ठटेर, कांग्रेसका अष्टभुजा पाठक, पुष्पा थरुनी, फखरुद्दिन खान, बलदेव शर्मा पोखरेल, रमा अर्याल र वसी उद्दिन खाँ तथा संघीय समाजवादी फोरमका सन्तोषकुमार पाण्डे आफ्नै घरमा बस्छन्, तर राज्यबाट घरभाडा रकम बुझ्छन् ।

कर्णाली प्रदेश

रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा र सुर्खेत निर्वाचन क्षेत्र (ख) का सांसद विन्दमान विष्टले कानुनविपरीत सुविधा लिइरहेका छन् । उनीहरू सुर्खेतस्थित सिँचाइ डिभिजन कार्यालयको आवासमा बस्दै आएका छन्, तर प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार रुपैयाँ पनि बुझ्दै गरेको खुलेको छ । विष्ट भदौदेखि र सांसद शर्मा असोजदेखि सरकारी आवासमा बस्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश

प्रदेश सभामा राष्ट्रिय जनता पार्टीकी सदस्य मालामती रानाका प्रदेश राजधानी धनगढीमै दुईवटा घर छन्  । धनगढी– ८ स्थित दुईतले घरमा बस्दै आएकी रानाले वडा नम्बर ७ स्थित मुख्य बजारमा रहेको तीनतले घर भाडामा लगाएकी छिन् । तैपनि उनले सरकारबाट आवास शुल्कबापत मासिक १७ हजार पनि बुझ्दै आएकी छिन् ।

त्यस्तै धनगढीमै दुईवटा घर भएका कांग्रेस सांसद डिल्लीराज पन्तले पनि घरभाडा बुझ्ने गरेका छन् । उनले एउटा घर होटेल सञ्चालनका लागि भाडामा लगाएका छन् भने मुख्य बजारमै रहेको अर्को घरमा आफू बस्छन् ।
नयाँ पत्रिकाबाट

Logo