सपनामा पनि सिठ्ठी फुकेको देख्छु : अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु

सपनामा पनि सिठ्ठी फुकेको देख्छु : अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
‘जहाँ जाम त्यहाँ सीताराम’ भन्ने भनाइ एकादेशको कथा जस्तै भइसकेको छ । तर नेपाल प्रहरीभित्र रहेर उपत्यकाको ट्राफिक व्यवस्थानमा नाम कमाएका प्रहरी निरीक्षक सीताराम हाछेथु पूर्वप्रहरी भइसकेका छन् ।

नेपाल प्रहरीका ‘रियल हिरो’ का रूपमा चिनिएका हाछेथुले नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर हालै अवकाश पाएका हुन् । नेपाल प्रहरीभित्र आफूलाई विभिन्न उपनामले चिनाउन थुप्रै प्रहरी अधिकृतले मिडियाबाजी गरे पनि हाछेथुको दाँजोमा कोही पनि पुग्न नसकेको टिप्पणी गरिन्छ ।

राजधानीको ट्राफिक व्यवस्थापनका लागि हरेक प्रहरी अधिकृतको मुखमा झुन्डिने नाम हो– सीताराम । त्यसैले होला उनले अवकाश पाएपछि उनको दाँजोमा काम गर्ने ट्राफिक प्रहरीको खोजीमा प्रहरी संगठन नै लागेको छ ।

तथापि लामो प्रहरी जीवनपछि अवकाश पाएका सीतारामको काँधमा प्रहरी संगठनले फेरि अर्को जिम्मेवारी सुम्पेको छ । त्यो हो महानगरीय ट्राफिक वृत्त भक्तपुरको नयाँ भवन बनाउने । स्थानीय समाजसेवीदेखि प्रहरी अधिकृतसम्मले उक्त भवन निर्माणको संयोजक नै बनाइदिएका छन् सीतारामलाई ।

लामो प्रहरी जीवनपछि अवकाश पाएका सीताराम एक महिनाको आरामपछि पुनः आफ्नो पूर्वपेसामा फर्कने तयारीमा छन् । बाँकी जीवन ट्राफिक व्यवस्थापनमा नै बिताउने प्रण गर्दै उनी भन्छन्– ‘ट्राफिक व्यवस्थापन राजधानीको सबैभन्दा ठूलो चुनौती हो । यसको व्यवस्थापनमा ध्यान दिन सकेनौं भने यो क्यान्सर भन्दा पनि भयावह हुन सक्छ ।’

उनी भन्छन्– ‘हामीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दै जरिवाना मात्रै ग¥यौं, यसले समस्या समाधान भएन, अबको विकल्प भनेको जनचेतना नै हो । त्यसैले मेरो बाँकी जीवन ट्राफिक व्यवस्थानमै बित्नेछ । अहिले पनि सपनामा सिठ्ठी फुकेको र सवारी व्यवस्थापन गरेको देख्छु ।’
नेपाल समाचारपत्रबाट

Logo