सर्लाही । एक महिलाले बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको लागि किटानी जाहेरी दिएकी छन् । सर्लाहीको कविलासी नगरपालिका ७ सिरसियाकी ६० वर्षीया फुलकुमारी माझीले १५ वर्षीया छोरी सम्झा कुमारी माझीको बलात्कारपछि हत्या गरेको भन्दै दुई जनाविरुद्द जाहेरी दिएकी हुन् ।
उनले कविलासी–७ सिरसियाका २७ वर्षीय विनय राय र ३० वर्षमा चुनचुन रायले बलात्कारपछि हत्या गरेको किटानी दिएकी हुन् । गत मंसिर १८ गते सम्झा कुमारी घरभन्दा करिब १ सय मिटर पर रहेको अनाज पासवानको भैसी राख्ने गोठमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।
उनले आत्महत्या गरेको भन्दै आएपनि आमा फुलकुमारीले उनीहरुले बलात्कारपछि हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिपुरमा किटानी जाहेरी दिएकी हुन् ।
केही व्यक्तिहरुले उक्त घटनालाई आत्महत्या बनाउने प्रयास गरेका थिए । उनीहरुले विभिन्न किसिमको डर, त्रास देखाउँदै आएको मृतककी आमाले बताईन् । डर धम्कीका कारणले उनले अहिलेसम्म उजुरी गर्न नसकेको बताएकी छन् ।
आत्मा हत्या गर्नुको कुनै कारण नरहेको र झुण्डिएको औढनी खुकिलो रहेको, जिब्रो बाहिर नआएकोले रातको समयमा नै बलात्कार गरी हत्या गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
अभियुक्तहरुले पहिला पनि छोरीलाई घरमा लगेर शारीरिक शोषण गर्न खोजेको तथा केही दिन अगाडि गाँजा खाएर घरमा आएर छोराबुहारीमाथि पनि यौन दुव्र्यवहार गरेका थिए । बुहारी चिच्याएपछि उनीहरु भागेको फुलकुमारीको भनाई छ ।
उनीहरुसँग आफु एक्लै लड्न नसक्ने भन्दै फुलकुमारीले न्यायको लागी मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित अधिकारकर्मीहरुलाई पहल गरिदिन आग्रह गरेकी छन् ।
ईलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक रमेश बहादुर पालले जाहेरी परेको र थप अनुसन्धान भईरहेको बताए । घटनामा अभियुक्त भनिएका दुई जनाको खोजीकार्य जारी रहेको उनको भनाई छ ।





























प्रतिक्रिया