विशाल चौधरीलाई मानसिक समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइयो : निर्मला हत्या प्रकरण

विशाल चौधरीलाई मानसिक समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइयो : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

अनुसन्धानका क्रममा प्रहरी हिरासतबाट रिहा गरिएका १६ वर्षीय विशाल चौधरीलाई उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरी हिरासतमा मानसिक र शारिरीक यातना दिएपछि विशाल बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं लगिएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् ।

‘प्रहरी हिरासतबाट छुटेर आइसकेपछि विशालको स्वास्थ्यमा समस्या आएको परिवारले जानकारी दिए’ अधिकारकर्मी शारदा चन्दले भनिन् । परिवारकै सदस्यले आग्रह गरेपछि अधिकारकर्मी, नागरिक समाजको पहलमा उपचारका लागि काठमाडौं पठाएको उनले बताइन् ।

परिवारका अनुसार विशाल फर्केदेखि सुत्न नसकेको, रातीको समयमा बरबराउने, कराउने र डराइरहेका छन् । विशाललाई परिवारकै सदस्यको साथमा सोमबार उपचारका लागि काठमाडौं पठाइएको हो ।

यातना दिएको भन्दै परिवारले प्रहरीविरुद्ध उजुरी दिए

यता निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै न्यायका लागि परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार विशालका बुवा वीरवहादुर चौधरीले कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेपछि हिरासतमा यातना दिएको भन्दै उजुरी दिएका हुन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा विरवहादुरले ईमेल मार्फत उजुरी पठाएका छन् । ‘मेरो छोरालाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरियो’ उजुरीमा विशालका बुवा वीरवहादुरले भनेका छन्, ‘हिरासतमा नै उसलाई मानसिक र शारिरीक दुबै यातना दिएर आरोप स्वीकार्न लगाइयो ।’

वीरवहादुरले छोरा काठमाडौंबाट फर्केर आएपछि मात्रै उसलाई यातना दिएर आरोप स्वीकार्न लगाइएको जानकारी भएको उजुरीमा भनेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोगलाई यातना दिएको बारे आवश्यक छानविन गरी आवश्यक कारवाहीका लागि सिफारिस गरिपाउँ भन्दै उजुरी दिएका हुन् ।

‘कञ्चनपुर र काठमाडौं दुबै ठाउँमा हिरासतमा राखेर यातना दिइएको छ’ वीरवहादुरले भने । ‘यातना दिएर अपराध कसुर स्वीकार्न लगाउनेलाई कारवाही होस् ।’ विशाललाई कञ्चनपुर प्रहरीले मंसिर १९ गते दिउँसो २ बजेतिर भीमदत्त नगरपालिका–१८ स्थित घर नजिकैबाट पक्राउ गरेको थियो । अर्को दिन विशालका बुवा वीरवहादुरलाई साथमा पठाएर काठमाडौं लगिएको थियो । अनुसन्धानका क्रममा विशालको डीएनए समेत परीक्षण गरिएको थियो ।
अन्नपूर्णबाट

Logo