दैलेख
दैलेखको एक गुरुकुल विद्यापीठमा शिक्षकले कुटेर विद्यार्थीको खुट्टा भाँचिदिएका छन् । दुल्लु नगरपालिका नाभिस्थानमा सञ्चालित पञ्चकोसी विद्याश्रमका शिक्षक खगेन्द्र बजगाईंले १३ बर्से बालक सुरेन्द्र हमाललाई कुटेका हुन् ।
गृहकार्य गर्न नसकेको भन्दै सोमबार शिक्षक बजगाईंले वेदको लौरोले कुटेर सुरेन्द्रलाई घाइते बनाएका थिए । बालकका अभिभावकले घटना थाहा पाउने डरले चोट लाग्दा पनि शिक्षक बजगाईंले उपचारका लागि जान दिएका थिएनन् ।
सुरेन्द्रसँगै पढ्ने नवराज खनालको सहयोगमा विद्याश्रमबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको हो । उक्त विद्यापीठमा आवासीय रूपमा पठनपाठन हुँदै आएको छ । दुल्लु अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । एक्सरे हेर्दा भाँचिएको आशंका भएपछि नेपालगन्ज रिफर गरिएको दुल्लु अस्पताल प्रमुख पूजा विसीले बताइन् ।
दुल्लु अस्पतालले भाँचिएको भनी बताए पनि नेपालगन्ज अस्पतालले नभाँचिएको भनेपछि आफूहरू छक्क परेको सुरेन्द्रका काका पूर्णप्रसादले बताए । बालक कुट्ने विद्यापीठका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दीपक पाण्डे बालकको उपचार गराउने भन्दै नेपालगन्ज पुगेपछि घटना रहस्यमय बनेको छ ।
सिकाउने नाममा दिनहुँ कुट्ने, अपशब्द बोल्ने तथा शिक्षकको दुव्र्यवहार खप्न नसकेपछि विद्यापीठका ६ जना बालबालिकाले एकैसाथ विद्यालय छाडेका छन् । बालक कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई विद्यापीठ व्यवस्थापन समितिले रोकेर बालकको उपचारमा सहयोग गरिदिने आश्वासन दिएको बुझिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया