निर्मला प्रकरणः प्रदीप र विशालको पनि डिएनए मिलेन, दिल्लीराज पक्राउ पर्न सक्ने

निर्मला प्रकरणः प्रदीप र विशालको पनि डिएनए मिलेन, दिल्लीराज पक्राउ पर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ। गत मंसिर १८ गते काठमाडौँबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी स्रोतले जनाएको छ ।

बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका दुवै जनाको डिएनए परीक्षण गरिएको थियो । डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले खोल्नेछ ।

मंसिर १८ गते महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष पनि साविती बयान दिएका थिए। उनकै बयानका आधारमा प्रहरीले प्रदीपकै साथी विशाललाई उनकै घरबाट पक्राउ गरेर साउन २१ गते काठमाडौँ ल्याएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लिइएको बयानमा प्रदीपले सुरुमा हत्या गरेको साविती बयान दिएका थिए। उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि बयानमा घटना स्वीकारेका थिए।

उनीहरुसँगको बयान चलिरहेका बेला डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। तर, त्यहाँ गरिएको परीक्षणमा दुवैजनाको डिएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान मोडिएको छ ।

अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ। तर ती कसैसँग पनि निर्मलाको स्वाब मिलेको छैन् । जसका कारण प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको छ ।

निर्मलाको केशमा प्रमाण मेट्न भूमिका खेलेको भन्दै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्टविरुद्ध जाहेरी परेको छ ।

सोमबार निर्मलाकी आमा दुर्गादेवी र निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै मुख्य अभियुक्त बनाइएका दीलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले दिल्लीराज र जगदीशसहित आठजना प्रहरीविरुद्ध जाहेरी दिएका हुन् ।

दुर्गादेवीले छोरीको हत्या प्रकरणमा दिल्लीराज र जगदीशले प्रमाण मेट्न मुख्य भूमिका खेलेको तथा अन्य प्रहरीले त्यसमा सघाएको आरोप लगाएकी छन्।

दुर्गा देवीले सार्वजनिक न्यायविरुद्धको कसुर र तत्कालीन समयमा प्रहरीले मुख्य अभियुक्त बनाएका दीलिपसिंह विष्टका दाजु खड्गसिंहले यातना कसुर अन्तर्गत जाहेरी हालेका हुन्।

नक्कली प्रमाण खडा गर्ने, निर्दोष व्यक्तिलाई जबरजस्ती अपराध कबुल गराएकाले दुवैजनाले हदैसम्मको कारबाही माग गरेका छन्।पीडितद्वयको उजुरीपछि हाल बर्खास्तीमा परेका विष्ट र भट्ट अनुसन्धानका लागि पक्राउ पर्न सक्ने सम्भावना छ।

Logo