सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढ्दै

सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढ्दै


सिन्धुपाल्चोक

मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन् । गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो ।

पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ । यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधान थियो । ‘संहिताले महिला, पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्न पुरुषको समेत धमाधम निवेदन आइरहेको छ,’ सिन्धुपाल्चोक जिल्ला अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले भने, ‘श्रीमतीसँग छुट्टिन चाहने पुरुषको संख्या दिनदिनै बढिरहेको छ ।’

देवानी संहिता कार्यान्वयनमा आएको चार महिना नबित्दै १९ जना पुरुषले सम्बन्ध विच्छेद गर्न जिल्ला अदालतमा निवेदन दिइसकेका छन् । वर्षेनी बढिरहेको सम्वन्ध विच्छेद यो संहिता कार्यान्वयनपछि अझै बढ्ने देखिएको स्रेस्तेदार पौडेल बताउँछन् । सोही अवधिमा सम्बन्ध विच्छेद गर्न चाहेका ५५ जना महिलाको निवेदन अदालतमा परेको छ । संहिता कार्यान्वयनमा आउनु अघि गएको साउनमा महिलाबादी भएको १५ सम्बन्ध विच्छेद निवेदन अदालतमा परेको थियो ।

नयाँ आर्थिक वर्ष सुरु भएको पाँच महिनाभित्रै सम्बन्ध विच्छेदका लागि अदालतमा ७९ महिला तथा पुरुषका निवेदन परिसकेको छ । गत आर्थिक वर्षमा १ सय २२ निवेदन परेका थिए । ती सबै महिलाको मात्र थियो । अदालतको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षमा सयको हाराहारीमा सम्बन्ध विच्छेद निवेदन अदालतमा पर्दै आएको छ ।
नागरिकबाट

Logo