नेपालमा चिनियाँ रक्षामन्‍त्रीको ८ घण्टा : के के गरे ? क-कसलाई भेटे ?

नेपालमा चिनियाँ रक्षामन्‍त्रीको ८ घण्टा : के के गरे ? क-कसलाई भेटे ?


काठमाडौं ।

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले आइतबार नेपालको एक दिवसीय नेपाल भ्रमण गरेका छन् । आइतबार बिहान करिब ११ बजे एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका वेइलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका वेइ साढे दुई बजेटिर नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगे। उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीचको छलफलमा सहभागीता जनाए। जंगी अड्डामा नेपाली सेनाले वेइलाई सलामीसमेत अर्पण गर्‍यो। उनको भ्रमण टोलीमा चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीसमेत सहभागी थिए। २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका हुन्।

बालुवाटारमा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

जंगी अड्डाको भेटघाट र छलफलपछि रक्षामन्त्री वेइ रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्न बालुवाटार पुगे।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराए।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा‍‍. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए। यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो।

रक्षा मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि बताए।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए। सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराए ।

शीतल निवासमा राष्ट्रपतिसँग शिष्टाचार भेट

प्रधानमन्त्रीसँगको भेट सकेर वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतल निवास पुगे। चिनियाँ रक्षामन्त्रीसँगको भेटमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गरिन्।

वेइसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए।

शिष्टाचार भेटको अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो । आइतबार बिहान नेपाल आएका वेइको टोली शीतल निवासमा राष्ट्रपतिसँगको भेटपछि चीन फर्किएको छ।

भ्रमणको महत्व

चीनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। विमानस्थलमा पत्रकारसँग बोल्दै वेइले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड-१९ का कारण भ्रमणमा केही विलम्ब भयो’, उनले भने, ‘कोभिड-१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुनेछ।’

पाँच करोड युआन सहयोगको घोषणा

चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

चीनको राज्यपरिषद् सदस्य वेइ नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डामा आइतबार अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहाद्र्रपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।अन्नपूर्णबाट

Logo