कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको जन्मदिनको अवसरमा सडकमै होम गरिएको छ । गत साउन ११ गते मृत अवस्थामा फेला परेकी निर्मलाको आत्माको शान्तिको लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै होम गरिएको हो ।
जन्म दिनको अवसर पारेर गरिएको होममा निर्मलाकी आमा दुर्गादेवी, नागरिक समाज तथा स्थानीय र अधिकारकर्मीको सहभागिता रहेको थियो ।
हत्यारा पत्ता लगाउन र घटनाको निष्पक्ष छानबिनका लागि दबाबस्वरुप सडकमै होम गरिएको अधिकारकर्मी शारदा चन्दले जानकारी दिईन् । निर्मलाको फोटो राखेर धार्मिक परम्पराअनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा गरेका थिए ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते घरनजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि निर्मलाको हत्या भएको पुष्टि भए पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।
अनुसन्धानका क्रममा हालसम्म १० जनाको डीएनए परीक्षण गरिएको छ । अझै निर्मलाकै छिमेकी प्रदीप रावल र विशाल चौधरीको डिएनए परिक्षणको क्रममा छ । त्यसको रिपोर्ट आउन बाँकी छ । प्रहरीका अनुसार उनीहरु दुवै जनाले अपराध कबुल गरेका छन् ।





























प्रतिक्रिया