भ्रष्टाचारमा दोषी ठहरिएपछि वडाअध्यक्ष निलम्बित

भ्रष्टाचारमा दोषी ठहरिएपछि वडाअध्यक्ष निलम्बित

केन्द्रबिन्दु
0
Shares

सप्तरी । भ्रष्टाचारमा दोषी ठहरिएपछि एक वडाअध्यक्ष निलम्बनमा परेका छन् । विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका हुन् ।

यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले अन्तरिम आदेश गरेको थियो । नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कसुरदार ठहर गरेपछि ६ महिना कैद र १५ हजार जरिवानाको फैसला भएको छ।

यादवले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विशेष अदालतले ०७४ पुस २१ गते ६ महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ६ वर्षभन्दा बढी नोकरी गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहरिएका वडाअध्यक्ष यादवलाई पदबाट निलम्बन गर्न माग उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।

सब इञ्जिनियरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी कम्प्युटरबाट स्क्यानिङ गरी बनाएको नक्कली प्रमाणपत्र पेश गरी यादवले जिल्ला शिक्षा कार्यालय दैलेखबाट ०६९ माघ १५ गतेदेखि प्राविधिक सब इञ्जिनियरिङ पदमा नियुक्ती लिएका थिए।

Logo