चन्द्रप्रसाद ढकाल : ‘बैंकको जागिरेदेखि व्यवसायीहरुको नेतृत्वसम्म’ (भिडियाेसहित)

चन्द्रप्रसाद ढकाल : ‘बैंकको जागिरेदेखि व्यवसायीहरुको नेतृत्वसम्म’ (भिडियाेसहित)


काठमाडौं ।

बाग्लुङ जिल्लाको बलेवा, अमलाचौरमा वि.सं. २०२२ सालमा सामान्य परिवारमा जन्मिएका थिए, चन्द्रप्रसाद ढकाल । उनी नेपाली उद्योग र व्यवसायको क्षेत्रमा मुलुककै पहिचान बनाउने सफल व्यवसायी हुन् । उनी उद्यमशिलतामा लागेको त्यति लामो समय भएको छैन । तर व्यवसायमा लागेको छोटो समयमै नेपालका सफल व्यवसायीको रुपमा मात्रै नभएर देशमै नयाँ नयाँ उद्यमशिलता सृजना गर्नुपर्छ भन्दै आफैं अभियानकर्ताको रुपमा समेत परिचित रहेका छन् ।

ढकाल साढे दुई दशकको मिहेनत, लगनशीलता र काम प्रतिको दृढ इच्छाशक्ति बनाएर व्यवसायमा लागेकाले नै देशकै सफल व्यवसायी बनेका हुन् । उनले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरी हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायीक संस्थाको नेतृत्व गरिरहेका छन् ।

ढकालले आइतबार देशभरको निजीक्षेत्रको छाता संगठनमा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पद जितेका छन् । ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष जितेसँगै शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ ।

महासंघको ५४ औं बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।

महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । वस्तुगत समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका थिए ।

ढकाललाई पछाडी फर्केर हेर्दा

ढकालको अहिलेको सफलतालाई विर्सिएर पछाडि फर्केर हेर्ने हो भने कहालीलाग्दो अवस्था छ । उनको बाल्यकालको पारिवारिक जीवन निकै दयनीय थियो । उनी बालक हुँदा नै बुबाको निधन भएकाले बुबाको न्यानो माया र सुखद् भविष्यको सपना कहिल्यै देख्न पाएनन् । सोह्र वर्षको हुँदा नै आमा र साना भाइबहिनी समेतको भविष्य काँधमा आएको थियो । त्यसपछि आफू र आफ्नो परिवारको भविष्यका लागि समेत आफैंले निर्णय लिनुपर्ने भएको थियो । यसरी १६ वर्षको उमेरमै परिवार र आफ्नो उज्यालो जीवनको खुसीमाथि ग्रहण लागेको थियो । चन्द्रमामा लागेको ग्रहणलाई पन्छाउँदै चन्द्रले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिवद्धताकै बलमा व्यवसायीक क्षेत्रमा लागेर जिन्दगीमा पूर्णमास ल्याएका छन् ।

बैंकको जागिर छोडेर व्यवसायमा

वाग्लुङबाट पढाई र परिवारको जिम्मेवारी बोकेर काठमाडौं आएका थिए ढकाल । यसरी काठमाडौंमा पढाईलाई निरन्तरता दिदै जाँदा कामसँगै पढाइलाई अगाडि बढाउन धेरै कठिनाईहरु थिए । यो कठिनाईलाई सहज बनाउनका लागि ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गरे । घरमा खर्च पठाउँदै पढाई अगाडि बढाए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चार वर्ष काम गरे । बैकको जागिर छोडेर व्यवसायमा लाग्ने सोच बनाए ।

२०४८ तिर कोल्ड स्टोर चलाउन सुरु गरे । यसरी कोल्ड स्टोरबाट व्यवसाय सुरु गरेका ढकालले केही समयपछि कार्गो व्यवसायमा पनि लगानी गरे । कार्गो व्यवसाय सुरु गर्दा उनले आफ्नो भाइ रामुलाई पनि काठमाडौं ल्याएका थिए । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले ऋण दिएनन् ।

यसरी आफू काम गरेको बैकले नै ऋण नदिएर राजीनामा दिएर ऋण लिएका ढकाल अहिले नेपालकै ठूलो ग्लोबल आईएमई बैंकका अध्यक्ष रहेका छन् । उनी कार्गाे व्यवसाय गर्दा गर्दै १० महिना जापानमै बसेर समेत काम गरेका थिए । जापानबाट कमाएको पैसा नेपाल पठाउन उनलाई धेरै सास्ती भएको थियो । त्यही सास्तीलाई सहज बनाउन ढकालले आइएमई स्थापना गरेका थिए ।

हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यवसायिक क्षेत्रको उदीयमान गु्रप रहेको छ । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटी लगायत विभिन्न व्यवसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो ।

अहिले उनले विदेशमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन समस्या देखर स्थापना गरेको आईएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’ को पर्यायबाची नै बनेको छ ।

ढकालले व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरु धेरैको जीवनमा प्रेरणाका स्रोत बन्न योग्य छन् । सफलताको ओझिलो यात्रामा उनले बटुलेका अनुभव भावी पींढीका लागि पथप्रदर्शक मात्र होइन प्रयोगशाला नै बन्न सक्छन् । हाल ढकाल व्यवसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिन्छन् । नेपालका सातै प्रदेशमा केबलकार पुर्याउने उनको योजना छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष भएसँगै निजी क्षेत्रलाई सवल बनाउने नयाँ जिम्मेवारी ढकालले एक दर्जनभन्दा बढी व्यवसायहरुको नेतृत्व गर्दै आएका छन् । अब उनको काँधमा कोरोना भाइरसले थला परेको उद्योग व्यवसाय क्षेत्रलाई माथि उठाउनु पर्ने ठूलो चुनौती आएको छ ।

उनले अब देशभरमा व्यवसायीहरुको नेतृत्व गर्दै व्यवसायीहरुका साझा मागहरुलाई समेत सरकारसामु पुर्याउने पुलको काम गर्नु पर्ने भएको छ । यसरी उनले सम्पूर्ण व्यवसायीहरुको नेतृत्व गर्दै आफ्नो व्यवसायलाई पनि अगाडि बढाउनु पर्नेछ । ढकालले अहिले पर्यटन, ऊर्जा, अटोमोबाइल्स लगायतका क्षेत्रमा पनि लगानी सुरु गरेका छन् । ढकालकै नेतृत्वमा चन्द्रागिरीमा केवलकार बनेको छ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका डाँडाकाँडालाई उपयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि ढकालले दिएका छन् । उनले यस्तै धेरै योजनाहरुमा लगानी गर्ने बताउँदै आएका छन् ।

अब उनको काँधमा निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी बढेको छ । उनले महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत भनेको व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

Logo