काठमाडौं
संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ । भावी प्रधानन्यायाधीश छनोटका लागि शनिबार परिषद् बैठक बस्दैछ । यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो ।
न्यायपालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषदमा पठाएको छ । यसअघि पनि हालका प्रधानन्यायाधीश ओमप्रकास मिश्रसहित तीनै जनाको नाम पठाइएको थियो ।
प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ । विशेषगरी परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीशका लागि लबिङ भइरहेको छ ।
परिषद् बैठकमा उनीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले बैठकको पूर्वसन्ध्यामा निकट सूत्र मार्फत पछ्याउने काम चलिरहेको छ । ‘प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष दाहालसँग विभिन्न संयन्त्र मार्फत कुरा आइरहेको छ ।
प्रधानन्यायाधीशमा सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने कुरो छ’, दाहाल निकट एक सभासद्ले भने, ‘अहिलेसम्म अन्योल देखिन्छ । यसै भन्न सकिने अवस्था छैन ।’ पुनरावेदन अदालत र विशेष अदालतमा रहेका बेला भएको फैसलाको विषयलाई लिएर दुवै न्यायाधीश उपर सर्वोच्चबाटै छानबिन र कारबाहीका लागि न्यायपरिषद्लाई लेखि पठाइएको लगायत समग्र वैयक्तिक विषयमा अध्ययन भइरहेको छ ।
विशेष अदालतमा सदस्य रहेका बेला पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको विषयमा सर्वोच्चकी तत्कालीन न्यायाधीश सुशीला कार्की (प्रधानन्यायाधीशबाट अवकाश) सहितको इजलासले राणामाथि छानबिन र कारबाही गर्न न्यायपरिषदमा लेखिपठाइएको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया