कर्मचारी समायोजनपछि मात्र लोकसेवा परीक्षा खुल्ने

कर्मचारी समायोजनपछि मात्र लोकसेवा परीक्षा खुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ । अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ ।

समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ । सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ ।

कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो ।

समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले लोकसेवाको परीक्षा पर धकेलिने अवस्था आएको सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ । यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो ।

लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन पटकपटक पत्राचार गर्दै आएको छ । तर सामान्यले भने समायोजनपछि मात्रै भर्ना गर्नुपर्ने भएकाले रिक्त दरबन्दीको विवरण आयोगमा पठाउन इन्कार गर्दै आइरहेको छ ।
राजधानीबाट

Logo