भवन निर्माण कार्य पूरा नहुँदा संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई

भवन निर्माण कार्य पूरा नहुँदा संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवन निर्माण कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवन निर्माण पूरा नभएकाले सो अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको प्रष्टयाएका हुन् ।

बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

मन्त्री ढकालले पुस पहिलो साताभित्र प्रतिनिधिसभा भवन निर्माण कार्य पुरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने बताए ।

प्रतिनिधिसभा भवन निर्माण हुनेवित्तिकै सरकारले कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने मन्त्री ढकालको प्रतिवद्धता छ । उनले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानुन ल्याउने पक्षमा रहेको बताए ।

मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे बताए । फागुन पहिलो हप्ता भित्र नयाँ संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्री ढकालले संविधानको सोही व्यवस्था अनुसार सरकारले संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

आगामी हिउँदे अधिवेशनमा साझा सूचिसँग सम्बन्धित र संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री ढकालको योजना छ । मन्त्री ढकालले सरकार संविधानको भावना बमोजिम कानुन निर्माणको कामलाई अघि बढाउन प्रतिवद्ध रहेकोे बताए ।

Logo