नर्सहरुलाई देख्दा पनि निर्मला नै सम्झन्छन् बाबु यज्ञराज

नर्सहरुलाई देख्दा पनि निर्मला नै सम्झन्छन् बाबु यज्ञराज

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । सेता कपडा लगाएर आएका ‘नर्सहरुलाई ए निर्मला’ भन्दै बोलाउँछन् । आफ्नो उपचार गर्न आएका नर्सहरुलाई आफ्नै छोरी निर्मला जस्तै देख्छन् । मंसिर ८ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत निर्मला पन्तका बाबु यज्ञराज अस्पलतालका नर्सहरुलाई निर्मला जस्तै देख्न थालेका हुन् । जुन सुकै केटी मान्छे देख्यो कि निर्मला नै सम्झन्छन् ।

बलात्कारपछि हत्या गरिएकी छोरी निर्मलाको न्यायका लागि आवाज उठाउँदा मलाई मान्छेले ‘निर्मलाको बाबु बौलायो, पागल भयो, मानसिक सन्तुलन बिग्रियो’ भने के–के आरोप लगाए । यदि मेरो ठाउँमा तपाई हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो ।’ निकै दुःखका साथ यज्ञराजले भने ।

गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । यतिबेला उनलाई आकस्मिक कक्ष, आईसीसीयू वार्ड हुँदै सर्जिकल वार्डमा सािरएको छ ।

खुट्टामा लागेको घाउ निको हुँदैछ । कुर्न बसेकी श्रीमती दुर्गादेवी पन्त भने घर फर्किसकेकी छन् । कुरुवा बसिरहेकी उनकी दिदी प्रेमवती राणाले स्वास्थ्यमा केही सुधार देखिएको बताईन् । उनी भन्छिन्, ‘शौचालय लैजान दुई जना चाहिन्थ्यो, अहिले एक्लै जान्छन् ।’

मानसिक रोगको लक्षणका आधारमा थप उपचारका लागि राजधानी ल्याए पनि उनी मानसिक वार्डमा छैनन् । खुट्टामा चोटपटक लागेको छ । एउटा औंला पनि भाँचिएको छ । खोच्याउँदै हिँड्छन् ।

मानसिक रोगी भन्दै बाहिर चलेको हल्लाका कारण आफुलाई निकै दुःख लागेको बताएका छन् । उनी भन्छन्, ‘छोरी बलात्कार हुँदा कुनचाहिँ बाउ छट्पटिँदैन, न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ? छोरीका लागि न्याय माग्दा बलात्कारीहरुले नै ममाथि विभिन्न आरोप लगाए ।’

निको भएर घर फर्किएपछि फेरि धर्नामा बस्ने यज्ञराजको भनाई छ । उनी भन्छन्, ‘अब फर्केर फेरि धर्नामा बस्छु, बलात्कारी हत्यारा नसमातिएसम्म आन्दोलन गरिरहन्छु ।’ उनलाई घरमा भएका दुई छोरीको पनि चिन्ता लागेको छ । एउटा घटनाले आफुलाई कहिल्यै निको नहुने घाँउ लागेको बताउँदैं भन्छन्, ‘घरमा दुई छोरी छन् । तिनिहरुको पनि खुवै पिर लागेको छ । घर गएर उनीहरुको पनि हेरचाह गर्छु ।’

गत साउन १० गते साथी रोशनी बमको घरमा होमर्व गर्न गएकी निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिईन् । चार महिना वितिसक्दा पनि निर्मलाका हत्यारा पत्ता लाग्न सकेको छैन् । निर्मलाको न्यायका लागि भन्दै महेन्द्रनगरमा कात्तिक २५ गतेदेखि निर्मलाका बाबुआमा, परिवार आफन्त तथा अधिकारकर्मीहरु धर्नामा बसेका छन् ।

Logo