आन्दोलन र बेथितिको अखडा बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

आन्दोलन र बेथितिको अखडा बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

केन्द्रबिन्दु
0
Shares

चितवन

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा आन्दोलन चलेको लामो समय भयो । यस वर्षको दसैंतिहार बिदापछि विश्वविद्यालय खुलेको छैन । कात्तिक २५ देखि विद्यार्थी निरन्तर आन्दोलनमा छन् ।

विश्वविद्यालयले निजी क्याम्पसलाई दिएको सम्बन्धनको विरोधमा विद्यार्थी संगठनहरूले संयुक्त रुपमा धर्ना लगायत विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् । विद्यार्थीको आन्दोलनले निकास नपाउँदै प्राध्यापकहरूको आन्दोलन पनि थपिएको छ । विश्वविद्यालयका विद्यार्थीले शनिबार भरतपुरमा विरोध प्रदर्शनसमेत गरे ।

स्थापनापछि अहिलेसम्म आइपुग्दा विश्वविद्यालयले पटकपटक बन्दको सामना गर्नुुपरेको छ । पछिल्लोपटक नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी भएसँगै विद्यार्थीले विश्वविद्यालय नै बन्द गराएका छन् । विश्वविद्यालयद्वारा अपारदर्शी तरिकाले सम्बन्धन दिइएका निजी क्याम्पसलाई समेत समेटेर भर्ना खुलाइएको भन्दै विद्यार्थी र प्राध्यापकले विरोध जारी राखेका छन् ।

विश्वविद्यालयले शैक्षिक वर्ष २०७५/७६ का लागि सम्बन्धन दिएका निजी आठ क्याम्पसलाई समेत सहभागी गराई अनलाइन फाराम खुलाएपछि विद्यार्थीले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थी र प्राध्यापकको विरोधपछि निजी क्याम्पसका लागि फाराम भर्न सकिने जानकारी हटाएर संशोधित सूचना प्रकाशित गरिएको छ । सूचनामा स्नातक तह प्रथम वर्ष (बिएससी एजी) मा कात्तिक २५ देखि मंसिर १७ गतेसम्म अनलाइनबाट फाराम भर्न सकिने व्यवस्था भने यथावत् छ ।

स्नातक तह प्रथमवर्षको बिएससी फरेस्ट्रीको भने समय थप गरेर पुस १ गतेसम्म फाराम भर्न सकिने समय तोकिएको छ । विद्यार्थी र प्राध्यापक सम्बन्धन खारेजीको माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने अडानमा छन् । आंगिक कलेजमा स्थायी शिक्षक, कर्मचारी, पुस्तकालय, प्रयोगशाला लगायत भौतिक संरचनाको व्यवस्थासँगै शैक्षिक गुणस्तर कायम गर्नुपर्ने, कृषि कलेजको अनुगमन गर्न एग्रिकल्चर काउन्सिल बनाउनुपर्ने र भर्ना कमिटी खारेज गर्नुपर्ने माग पनि विद्यार्थीले राखेका छन् । अनेरास्ववियु रामपुर क्याम्पस कमिटीका कार्यवाहक अध्यक्ष वामदेव गौतम विद्यार्थीका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँछन् ।
नागरिकबाट

Logo