खुलेकै दिन यातायात विभागको सर्बर ह्याङ : देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध

खुलेकै दिन यातायात विभागको सर्बर ह्याङ : देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यातायात व्यवस्था विभागको सर्बर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्ला गरेकै दिन सर्बरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गतेदेखि खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ । वेबसाइट नै ह्याङ भएपछि अनलाइन फर्म भर्न चाहने नयाँ सेवाग्राही पनि अन्यौलमा परेका छन् । विभागले देशभरका यातायात कार्यालयमार्फत सो सेवा दिँदै आएको थियो ।

दैनिक लाइसेन्सको माग बढ्ने र ट्रायल–रिट्रायल दिनेहरूको संख्या थपिने भएपछि यसअघि विभागले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर अनलाइन आवेदन सेवा बन्द गरेको थियो । पहिलोपटक ट्रायल दिनेहरूमध्ये ४० प्रतिशत मात्र उत्तीर्ण हुने गरेको बताउँदै विभागले ६० प्रतिशतले तीनपटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले संख्या थपिदै गएको जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने उक्त समस्या समाधानार्थ प्राविधिकहरूले काम गरिरहेको दावी गर्नुभयो । ‘एकैपटक धेरै सेवाग्राहीले वेवभसाइट खोल्दा सर्बरले धान्न नसकेको हो, एक/दुई दिनमै सहज हुन्छ ।’–उहाँले तर्क गर्नुभयो ।यसअघि यस्तो समस्या नआएको बताउदै प्रवक्ता उपाध्यायले समाधानको लागि काम भइरहेको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo