प्रधानमन्त्री कार्यालयमा वार रुम प्रयोगमा ल्याउने तयारी

प्रधानमन्त्री कार्यालयमा वार रुम प्रयोगमा ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ । विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्नेछन् । त्यस्तै विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा अन्य सानाठूला समस्या तत्काल समाधान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वार रुमको व्यवस्था गर्न लागिएको हो । उनका अनुसार वार रुम तयार पार्न तीनवटा कम्पनीसँग प्रस्ताव मागिएको छ । ‘राष्ट्रिय प्राथमिकतामा रहेका आयोजनाको ‘टेलिप्रिजेन्ट’ मार्फत अनुगमन गरी त्यहाँ देखिएका समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालयका मन्त्री र सचिवसँग वार रुमबाट समन्वय गर्ने योजना छ’, प्रवक्ता कुँवरले भने ।

तत्काल ११ वटा आयोजनालाई लक्षित गरिएको उनको भनाइ छ । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना वा सरकारले प्राथमिकतामा राखेर अघि बढाएका योजनाको अनुगमन र तत्कालै एक्सनमा जान वार रुम बनाउन लागिएको हो । वार रुम नतिजा व्यवस्थापन महाशाखा अन्तर्गत रहनेछ । वार रुम बनाउन हामीले केही कम्पनीसँग प्रस्ताव मागेका छौं ।’

के हो ‘वार रुम’ ?

वार रुम खासगरी सेनाले युद्धका समयमा बढी प्रयोग गर्छ । यसका लागि सैनिक मुख्यालयमा एक कोठा हुन्छ, जहाँ नक्सामै युद्धरत क्षेत्र र सैनिकको तत्कालको स्थिति देखाउने उपकरण जडान गरिएको हुन्छ । युद्धका बेला यो रुममा बसेर सेनाका अधिकारीले आवश्यक रणनीति पनि बनाउँछन् । दोस्रो विश्वयुद्धमा शक्तिशाली राष्ट्रहरूले प्रयोग गरेको वार रुमलाई समय क्रमसँगै सरकारी र निजी क्षेत्रले पनि अभ्यासमा ल्याएका छन् ।
नागरिकबाट

Logo