६ महिनामा सांसदको उपचारमा राज्यकोषबाट ६८ लाख खर्च

६ महिनामा सांसदको उपचारमा राज्यकोषबाट ६८ लाख खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले ६ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको ६ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसदहरूलाई चिकित्सा बोर्डको सिफारिस अनुसार सो रकम लगेका हुन् । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई उपलब्ध गराइएको औषधि उपचारबापतको रकम बिलभर्पाइ अध्ययन गरेर उपलब्ध गराइएको बताए ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार विगतको ६ सय १ सदस्यीय संसदको तुलनामा औषधि उपचारबापत रकम लिन आउने सांसदको संख्या न्यून रहेको छ । एकजना सांसदले २० लाख रुपैयाँसम्म रकम माग गरे पनि सचिवालयले नदिएको ती अधिकारीले जानकारी दिए । उनले भने, ‘पहिला सांसदले ल्याएका औषधि उपचारका बिलभर्पाइ अस्वीकृत गरेर पनि धेरै नै फिर्ता पठाइयो तर अहिले भने धेरै बिलभपाई अस्वीकृत गर्नुपरेको छैन ।’

प्रतिनिधिसभामा कुल २ सय ७५ र राष्ट्रियसभामा कुल ५९ सदस्यीय गरी ३ सय ३० सदस्य रहेको संघीय संसदमा औषधी उपचारबापतको रकम लिने ४१ जना सांसदमध्ये महिला सांसद बढी छन् । प्रतिनिधिसभाका १७ जना र राष्ट्रियसभाका ७ जना गरी २३ जना महिलाले औषधि उपचारबापतको रकम लिएका छन् । उनीहरूमध्ये धेरैले ९ हजारदेखि तल १५ सयदेखि माथिको रकम लिएको पाइएको छ । तर एकजना राष्ट्रिक्षसभाकी सांसदले मात्र करिब साढे दुई लाख रुपैयाँ लगेकी छन् ।
नागरिकबाट

Logo