जनकपुरमा रामजानकी विवाहका लागि काठमाडौँबाट जन्ती जाने

जनकपुरमा रामजानकी विवाहका लागि काठमाडौँबाट जन्ती जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाका तर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ ।

निम्तो मान्न गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी, उपप्रशासकहरु सरोज थपलिया र दीपकबहादुर पाण्डे सहित संस्थानको कर्मचारी टोली र भगवान राम प्रति आस्था राख्ने वैष्णव समुदायका भक्तजन समारोहमा सरिक हुनुहुँदैछ ।

प्रार्थी भई सीताराम विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिका अध्यक्ष रोसनदास वैष्णवले जनकपुरमा उहाँहरूको स्वागत गर्नुहुनेछ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवं गोरखपुरस्थित गोरखनाथ पीठका मठाधीश आदित्यनाथ योगी जन्तीमा सामेल हुनुहुने भएको संस्थानले जनाएको छ । उहाँलाई पनि दुलाहाका तर्फबाट महामण्डलेश्वर रामतपेश्वरदासले निमन्त्रणा गर्नुभएको हो ।

रामसीताको स्वयंवर मङ्सिर २६ गते दिउँसो १ बजे र शुभ विवाह त्यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएको छ । गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार नगर दर्शन २१ गते साँझ ४ बजे, फूलवारी लिला २२ गते दिउँसो ३ बजे, धनुषयज्ञ २३ गते अपराह्न ४ बजे र तिलक महोत्सव २४ गते १ बजे र २५ गते मटिकोर सकिएपछि २६ गते स्वयंवर र त्यसै साँझ विवाह भई २७ गते रामकलेवा सम्पन्न गरी विवाह उत्सव मनाइने तय भएको छ ।

मर्यादा पुरुषोत्तम रामलार्इ हिन्दुहरू आदर्श पुरुषको रूपमा पूज्य मान्छन् भने सीतालाई आदर्श नारीका रूपमा पुज्छन् । राम सीतावीचको आदर्श विवाहको विधि र विधानलाई हिन्दुहरूले अवलम्वन गर्दै आएका छन् ।
गोरखापत्रबाट

Logo