काठमाडौँ
यातायात क्षेत्रमा शान्त हस्तक्षेप गर्दै आएको साझा यातायातले कात्तिक ६ गते उपत्यकाभित्र पाँच वटा विद्युतीय बस सञ्चालन थालेको घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुन उडाउँदै नयाँ विद्युतीय बसको उद्घाटन पनि गरे ।
उद्घाटनपछि विद्युतीय बस चढेर ओली सहित अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत पुल्चोकबाट सिंहदरबार पुगे । उद्घाटनका क्रममा साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले नियमित सञ्चालन गर्ने सर्त सहित बस सञ्चालन गरेको बताए । प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरे ।
तर उद्घाटनको भोलिपल्ट देखि साझाका ती विद्युतीय ५ वटा बस सडकमा देखिएनन् । यात्रुहरू विद्युतीय बस सडकमा नदेख्दा चकित परे, उद्घाटन गरेर बस किन गुडाइएन भन्दै । साझा बस नगुडाउनुको कारण हो– उद्घाटन गर्न हतारिनु । प्रक्रिया पूरा नगरी बस ल्याई उद्घाटन गरेर चर्चा कमाउन हतारिएपछि साझाले विद्युतीय बस सञ्चालन नगरेको हो ।
समय तालिका नमिलेको, दर्ता नभएको, इन्स्योरेन्स नगरेको, रुट नकिनेको र बसभित्र राख्ने केही उपकरण नपाएको भन्दै ती बस अहिले पुल्चोकस्थित कार्यालयको बाहिर पार्किङमै राखिएको साझाले जनाएको छ । पार्किङमा राखिएका ती बस कहिले गुडाउने हो भन्ने यकिन छैन । उद्घाटन गर्न हतार गर्ने तर सेवा नदिने प्रवृत्तिले साझा प्रतिको विश्वास गुम्दै जाने यात्रुहरूको गुनासो छ ।
‘साझाले वातावरणमैत्री बस ल्यायो भन्ने खुसी थियो, अर्को दिन सडकमै बस देखिएन,’ कुपण्डोलमा भेटिएका सन्देश काफ्लेले भने, ‘यो त यात्रु झुक्याउने काम मात्रै भयो ।’
नागरिकबाट





























प्रतिक्रिया