काठमाडौँ
उच्च अदालत पाटनले पेसा र व्यवसायको अधिकार भन्दा नागरिकको जीउ ज्यानको अधिकार महत्वपूर्ण रहेको भन्दै दिउँसो पनि उपत्यकाभित्र टिपर चलाउन पाउनु पर्ने माग सहितको रिट खारेज गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमा नै रिट खारेज गरिदिएको हो । विपक्षीसँग लिखित जवाफ समेत माग गर्नु औचित्यपूर्ण नभएको भन्दै अदालतले रिट नै खारेज गरेको हो । टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मङ्गलबार रिट दर्ता गरेको थियो ।
उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले रिट खारेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले संविधानको प्रत्याभूत गरेको पेसा तथा व्यवसायको अधिकारविरुद्ध टिपर सञ्चालनमा रोक लगाएको माग सहित रिट दर्ता भएको थियो । अदालतले त्यसलाई खारेज गरेको छ ।’
अदालतले व्यवसायको अनुमति दिने सरकारले नियमनको समेत अधिकार राख्ने भन्दै रिट खारेज गरेको हो । रिटमा भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग समेत ११ निकायलाई विपक्षी बनाइएको थियो ।
गोरखापत्रबाट





























प्रतिक्रिया