काठमाडौं ।
मानव जातिलाई नै संकटमा पारेको कोरोना भाइरस अर्थात् कोभिड–१९ फैलिएको एक वर्ष पूरा हुन लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन । भाइरस रोकथामका लागि विभिन्न प्रयास र उपाय अपनाइए पनि भाइरसले विश्वलाई नै प्रभावित बनाएको छ ।
विश्वका सबै देशहरुले आ–आफ्नै हिसाबले भाइरसलाई रोकथाम गर्ने प्रयास गरिहरहेका छन् । कोरोना भाइरसविरुद्वको भ्याक्सिन तत्कालको लागि अत्यावश्यक रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मार्चबाट यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । नेपालमा माघ ९ गते पहिलो संक्रमित भेटिएको थियो । त्यसपछिका दिनहरुमा भने नेपालमा पनि भाइरसको संक्रमण बढ्दो छ भने यसबाट हुने मृत्युदर पनि उत्तिकै बढ्दो छ ।
यसरी संक्रमित र मृतकको संख्या बढिरहेका बेला पछिल्लो समय नेपालमा ‘फ्रन्टलाइन’ मा बसेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू बढी प्रभावित र असुरक्षित देखिएका छन् । यतिबेला कोरोनाको विरुद्धको लडाईंका कमाण्डरहरू चिकित्सक र सुरक्षाकर्मीहरु नै हुन् ।
नागरिकको उपचार गर्नु चिकित्सकको दायित्व हो भने नागरिकलाई सुरक्षा प्रदान गर्नु सुरक्षाकर्मीको कर्तब्य हो । यसरी दायित्व र कर्तव्य पूरा गर्दा गर्दै धेरै चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु यसको चपेटामा पर्दै आएका छन् भने केहीले मृत्युवरणसमेत गर्नु परेको छ । बिरामीबाट सरेको संक्रमणबाट चिकित्सकले दिनहुँ आफ्ना सहकर्मी गुमाइरहेका छन् । संक्रमणकै कारण विदेशमा दर्जनौँ चिकित्सकको मृत्यु भइसकेको छ, र हजारौँ संक्रमित छन् भने नेपालमा पनि तीन महिनाको अवधिमा वरिष्ठ चार चिकित्सक र एकजना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ले ज्यान गुमाएका छन् ।
डा. ध्रुुव शर्मा मुडभरी
काठमाडौंको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक तथा पूर्व–अध्यक्ष तथा वरिष्ठ सर्जन डा.ध्रुुव शर्मा मुडभरीको कोरोनाको कारण निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको १५ दिनमा ७८ वर्षीय डा.मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । डा.मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज भएर घर गइसकेका उनी घरको बाथरुममा लडेर गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल ल्याई आइसियुमा उपचार गरिएको थियो ।
वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा.मुडभरी नेपालमा सर्जरी सुरु गर्ने डाक्टर मध्येका एक हुन् । उनले विभिन्न अञ्चल अस्पतालका साथै वीर अस्पतालको निर्देशकको जिम्मेवारी पूरा गर्नुका साथै शाही शल्य चिकित्सकका रुपमा झण्डै २५ वर्ष काम गरेका थिए । पोखरा, बुटवल, राजविराज र बाजुरा जस्तो ठाउँमा सर्जरी सेवा सञ्चालन गर्न डा.मुडभरीको योगदान छ । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
डा. सुनिल झा
कोरोना संक्रमणबाटै मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झा हुन् । डा. झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको थियो । कात्तिकको दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका डा. झामा कडा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा.झालाई तीन हप्तादेखि त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मधुमेह र पार्किन्सन्सकोसमेत समस्या भएका डा.झालाई सुरुमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो । स्वास्थ्य गम्भीर हुँदै गएपछि उनलाई प्लाज्मा थेरापी र रेमडिसिभिर समेत चलाइएको थियो । तर सबै उपाय अपनाउँदा पनि डा. झालाई बचाउन नसकिएको अस्पतालले जनाएको थियो । मनमोहन कार्डियोथेरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा.झा लेखनमा पनि उत्तिकै सक्रिय थिए । उनका केही पुस्तक प्रकाशन समेत भएका छन् । बिरामीको उपचारकै क्रममा चिकित्सकहरूको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले दुःख प्रकट गरेको थियो ।
डा. नारायणबहादुर थापा
कोरोनाबाटै ज्यान गुमाउने अर्का एक चिकित्सक हुन् डा. नारायणबहादुर थापा । नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा. थापाको कात्तिक ३० गते आइतबार राति मृत्यु भएको थियो । ८० वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
इशान बाल तथा महिला अस्पतालका अध्यक्षसमेत रहेका डा.थापा नेपालमा बाल शल्यक्रिया सुरु गर्ने चिकित्सकमध्येका एक मानिन्छन् । पहिले कान्ति बाल अस्पतालको निर्देशकसमेत रहेका थापा नेपालमा बाल शल्यक्रिया सुरु गर्ने चिकित्सक मध्येका एक हुन् । उनी नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्षसमेत हुन् । यस्तै, उनी नेपाल बर्न सोसाइटीलगायत विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरूमा आबद्ध समेत थिए ।
बेलायतमा पेडियायाट्रिक सर्जरी अध्ययन गरेका थापाले केही समय वीर अस्पतालमा पनि सेवा दिएका थिए । पछि जापान सरकारको सहयोगमा कान्ति बाल अस्पताल सुरु भएपछि उनी त्यहीँ काम गर्न थाले । कान्तिमा डा. थापा र डा केशरबहादुर राजभण्डारीले शल्यक्रिया विभाग सुरु गरेको थियो । यो जोडीलाई नेपालमा पेडियाट्रिक सर्जरीको सुरुवातकर्ता मानिन्छ । ०५१ सालमा सरकारी सेवाबाट अवकाश पाएपछि डा.थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल ‘इशान’ स्थापना गरेको थियो । १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ट तथा निजी क्षेत्रकै अब्बल सेवा दिने बाल अस्पतालको रूपमा परिचित छ ।
डा. हरि सापकोटा
यस्तै कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो चिकित्सक प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा हुन् । गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएका डा. सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको असोज १५ गते बिहीबार मृत्यु भएको थियो ।
डा. सापकोटालाई बचाउन चिकित्सकहरूले नेपालमा उपलब्ध प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधि चलाएका थिए तर यी उपचार विधिबाट पनि उनलाई बचाउन चिकित्सकहरू असफल भएका थिए । भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा–३ घर भएका ५९ वर्षीय सापकोटा नेपाल सरकारको एघारौं तहमा कार्यरत थिए । उनी लामो समय उपत्यकाबाहिर सेवारत थिए ।
सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकी
कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को पनि मृत्यु भएको छ । मंसिर ८ गते मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छोडेको थियो । उनको भेन्टिलेटरमा उपचार गरिएको थियो ।
तेह्रथुमको म्याङ्लुङ घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत थिए । ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
उनलाई कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएको थियो । उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई सुरुमा आइसीयूमा राखिएको थियो । झन् अवस्था चिन्ताजनक बनेपछि भेन्टिलेटरमा राखेर उपचार जारी राखिए पनि बचाउन नसकिएको अस्पतालको भनाइ छ । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी समेत गरिएको थियो । उनलाई १० पटकसम्म रेमडिसिभिर नामक औषधि पनि चलाइएको थियो । टाइफाइटको पुरानै समस्या रहेका इन्सपेक्टर बुढाथोकीले त्यसको औषधि पनि नियमित सेवन गरिरहेका थिए । सशस्त्र प्रहरी वल संगठनको मर्म र भावना अनुसार काम गर्ने कर्तव्यनिष्ट एवं इमान्दार प्रहरी अधिकृत बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको छ ।
यसरी नेपालमा एकातर्फ चिकित्सक र सुरक्षाकर्मीको मृत्यु हुने क्रम बढेको छ भने अर्कोतर्फ ‘फ्रन्टलाइन’मा बसेर काम गर्ने उनीहरुको सेवा सुविधामा खासै चासो दिइएको पाइँदैन ।































प्रतिक्रिया