कुशल ब्यबस्थापकको पहिचान बनाएका नेपाल बिधुत धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारलाई झिलिमिली पार्न बिशेष योजना ल्याएका छन्। घिसिङ्ले तिहारमा देशभर कहिँ कतै पनि लोडसेडिङ् नगर्ने लक्ष्यका साथ कर्मचारीहरुलाई तयारी अबस्थामा परिचालन गरेर योजना अघि सारेका हुन्।
प्राधिकरणले देशभर २४ सै घण्टा खटिने गरी करिब ३ हजार भन्दा बढी कर्मचारी परिचालन गरेको छ । विद्युत् प्रसारणमा कुनै अवरोध नहोस् भन्ने हेतुले स्रोतसाधनसहित कर्मचारीहरुलाई तयारी अबस्थामा राखेको हो। प्राधिकरणले हरेक वितरण केन्द्रमा २५ जनाका दरले कर्मचारी खटाइएको छ । देशभर ११० वितरण केन्द्र रहेका छन्।
प्राधिकरणले वितरण केन्द्र, नोलाइट, ग्रीडका कर्मचारीले कुनै कमजोरी गरे विभागीय कारवाही गर्ने चेतावनी समेत दिएको छ। प्राधिकरणका अनुसार ग्रीड महाशखा र नो लाइट शाखाका कर्मचारीलाई पनि तिहार लक्षित योजनामा खटाइईको छ। तिहारको समयमा उद्योग, क्ल कारखाना, कार्यालय लगायत बन्द रहने भएकाले पनि ति ठाउमा प्रयोग हुने बिधुत झिलिमिली योजनामा प्रयोग हुनेछ।
तिहारका लागि भनेर प्राधिकरणले कुलेखानी संचालन गर्ने भएको छ । कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ। यो अहिलेसम्मकै धेरै हो । यसका साथै प्राधिकरणले भारतबाट पनि मागअनुसारको विद्युत् आयात गर्ने भएको छ । तिहारमा लक्ष्मी पूजाको दिन साँझ साढे आठ बजेसम्म बिधुतको उच्च माग हुने गरेको छ।
तिहारमा अधिकतम १ हजार २७० मेगावाट बराबर बिधुतको माग हुन्छ। प्राधिकरणले भने एक हजार ५ सय सम्मको माग भए पनि धान्न सक्ने बताएको छ। निर्देशक घिसिङ्कै पहलमा २ बर्षअघि लोडसेडिंग अन्त्य भएको थियो।
त्यसो त २ बर्ष अघिसम्म प्राधिकरणले सूचना नै जारी गरेर तिहारमा बिधुतको न्युनतम खपत गर्न आग्रह गर्ने गर्दथ्यो तर यस बर्ष भने जति सक्दो झिलिमिली बनाउन आग्रह गरेको छ।





























प्रतिक्रिया